२०७८ पुष २०, मंगलवार

तेलुगू भाषामा निर्माण गरी हिन्दीमा डब गरिएको अल्लु अर्जुनको ‘पुष्पा: द राइज’ शृंखलाबद्ध फिल्म हो। यसको पहिलो भाग गएको रिलिज भएको छ। यसले प्रदर्शनको तेस्रो सातामासमेत उत्कृष्ट कमाइ गरिरहेको छ। भारत लगायत संसारभरि हालसम्म ३०० करोड भारू कमाएर बक्स अफिसमा नयाँ तरंग ल्याएको छ।

नोभेम्बर ५ मा रिलिज यो फिल्मले ४५ दिनमै झन्डै तीन सय करोड भारूको व्यापार गरिसकेको थियो। शूर्यबंशीको रेकर्डलाई पुष्पाले २१ दिनमै तोडेको छ।।

गाउँका जमिनदारको ‘अवैध’ सम्बन्धबाट जन्मिएका पुष्पराज (अल्लु अर्जुन) र उनकी आमा परिवारभित्रै हेपिएका छन्। बाबुको पारिवारिक इतिहास गौरवपूर्ण भए पनि उनलाई त्यो इतिहासको हिस्सेदार बन्नबाट वञ्चित गरिन्छ। उनी साना-मसिना काम गर्दै आफ्नो गुजारा चलाउँछन्। यही क्रममा रक्तचन्दन तस्करी गर्ने ठूलो गिरोहसँग उनी जोडिन पुग्छन् र त्यहीँबाट आपराधिक दुनियाँमा उनको प्रवेश हुन्छ।

सर्सर्ती सुन्दा फिल्मको कथावस्तुमा नयाँपन छैन। यो ‘नयाँ बोतलमा पुरानो रक्सी’ नै हो। तर तीन घन्टा लामो प्रस्तुतिमा निर्देशक सुकुमारले यस्तरी कथा बुनेका छन्, दर्शकलाई कहीँ पनि झिँझो लाग्न पाउँदैन। पुष्पालाई सुपरहिट बनाउने मुख्य पक्ष यही हो।

यसको पटकथा एकदमै कसिलो छ। एकपछि अर्को सनसनीपूर्ण घटनाले दर्शकलाई सिटमा बाँधेर राख्छ। त्यसमाथि अल्लु अर्जुनको प्रभावशाली अभिनयले फिल्ममा ज्यान भरेको छ। यति भन्दाभन्दै पूरै फिल्मको बोझ एक्ला अल्लु अर्जुनमाथि मात्र बोकाउनु पटकथाको एउटा कमजोरी हो।

पटकथाकारले अल्लु अर्जुनको भूमिकालाई वजनदार बनाउनमा जति धेरै काम गरेका छन्, त्यसको दाँजोमा अन्य पात्रहरू गौण बनेका छन्। यसले अन्य पात्रहरूमाथि न्याय गर्न नसकिएको प्रतीत हुन्छ।

कसिलो पटकथालाई सजीव ढंगले छायांकन गरेर पर्दामा उतार्न पनि सुकुमारले कुनै कसर छाडेका छैनन्। उनले ती सबै फर्मुला प्रयोग गरेका छन्, जसले फिल्मलाई भव्य बनाउन एकपछि अर्को इँटा थप्छ। चाहे त्यो नायकको धमाकेदार ‘इन्ट्री’ होस् या प्रहरी अधिकारीलाई छक्याउनमा उनले खेलेको चाल। जंगलका दृश्य जसरी छायांकन गरिएका छन्, त्यसले पनि दर्शकलाई सनसनी अनुभव गराउँछ।

समग्रमा ‘पुष्पा’ एउटा सामान्य कथालाई भव्यताका साथ प्रस्तुत गरिएको मसालेदार मनोरञ्जनपूर्ण फिल्म हो। बलिउडमा बढी बिक्ने भनेकै मसला हो। त्यहीँ मसलाको स्वाद चखाउँदै सूर्यवंशीले बक्स अफिसमा रेकर्ड राख्यो। अब त्यही रेकर्ड पछ्याउन दक्षिण भारतीय मसला लिएर आएको छ- पुष्पा।

 

प्रतिक्रिया

सम्बन्धित खवर