काठमाडौं । कुनैपनि एकजना मानिसले आफूसँग कतिवटा क्यामरा राख्ला । मान्छेले आफ्नो जीवनकालमा कतिवटा सम्म क्यामरा खरीद गर्छ होला ? स्कटकल्याण्डका एकजना व्यक्तिले चाहिँ आफ्नो जीवनकालमा ३ हजारवटा फरक–फरक मोडेलका क्यामरा खरीद गरे ।

स्कटल्याण्डको फिफे क्षेत्रमा पर्ने एउटा गाउँमा रहेको उक्त व्यक्तिगत क्यामरा संग्रह विश्वमा कुनैपनि व्यक्तिले गरेको सबैभन्दा धेरै क्यामराको संग्रह हो । तथापि यसको चर्चा खासै छैन ।

हुनत त्यतिधेरै क्यामरा संग्रह गर्ने जिम म्याथ्यू नामका व्यक्तिको हाल मृत्यु भैसकेको छ । तर उनको त्यो क्यामराको अद्वितीय संग्रहले छिटै नै क्यामरा संग्राहलको रुपमा पाउने वाला छ । जिमले संग्रह गरेका झण्डै ३ हजार वटा क्यामरमध्ये कतिपय १ सय वर्षभन्दा पुराना छन् ।

फिफेको सेन्ट मोनास गाउँमा आफ्नो सेवा निवृत्त जीवन बिताएका म्याथ्यू आफ्नो जागिरे जीवनको क्रममा विश्वका धेरै देश घुमेका थिए । आफ्ना मूल्यवान क्यामराहरु संग्रह गर्नका लागि उनले गाउँमा रहेको पूर्व मुक्ति सेनाको हल नै भाडामा लिए । उक्त हलभित्र राखिएका तख्ताहरुमा एकपछि अर्को गर्दै क्यामरा, यसका विभिन्न पाटपुर्जा तथा क्यामरा सम्बन्धी विवरणहरु आकर्षक रुपमा सजाएर राखिएको छ ।

त्यहाँ रहेका क्यामराहरुमा कतिपय स्टेरोस्कोपिक र थ्री डी क्यामरा छन् भने कतिपय तत्कालीन अवस्थामा पश्चिम युरोपमा दुर्लभ रहेका पूर्वी युरोपेली मोडल समेत रहेका छन् । यी सबै क्यामराहरुको केन्द्रमा कोडाक ब्राउनी क्यामराहरु रहेका छन् । उक्त ब्राण्डका सबैजसो मोडेलहरु त्यहाँ रहेका छन् ।

ब्राउनी नै सर्वसाधारणले किन्न सक्ने मूल्यको पहिलो क्यामरा थियो । सन् १९०० मा यो क्यामरा बिक्री हुँदा यसको मूल्य १ डलर मात्र थियो ।

जिम आफ्नो जिवनकालमै उक्त क्यामराको संग्रह मानिसहरुलाई देखाउन र त्यसलाई खुल्ला प्रदर्शनीको रुपमा स्थापित गर्न चाहन्थे । तर उनी बुढो तथा रोगी बन्दै गएपछि उनको इच्छा पूरा हुन सकेन । यद्यपि वर्षमा एकपटक हुने ग्रामिण महोत्सव तथा निजी तवरमा आउने आगन्तुकहरुका लागि चाहिँ उनले क्यामराहरु संग्रह गरिएको कक्ष खोलेर देखाउने गर्दथे ।

सन् २०१८ मा ८१ वर्षको उमेरमा जिमको मृत्यु भयो । जिमी पत्नी डोरोथीका अनुसार क्यामरा हेर्न आउने मानिसहरुसँग क्यामराका विषयमा चर्चा गर्न उनी निकै उत्सुक हुन्थे । उनी यतिधेरै बोल्दथे कि कहिलेकाहीँ त पत्नी नै आएर उनलाई रोक्नु पर्दथ्यो ।

पत्नी डोरोथी भन्छिन्, ‘उनी निकै राम्रा वक्ता थिए । उनको छोटो कुरा भन्ने नै हुँदैनथ्यो । आफूलाई रुचिकर लागेको कुरामा उनी घण्टौँ कुरा गर्न सक्दथे ।’

आफ्नो मृत्युभन्दा २४ वर्षअघि छोरीलाई भेट्न क्यानडा गएको बेलादेखि उनले क्यामराको संग्रह गर्न सुरु गरेका थिए । त्यसपछि मुटुको शल्यक्रिया गरेलगत्तै उनीहरु अमेरिकाको पश्चिमी किनारा हुँदै ओरेगन तर्फ यात्रा गरे जहाँ पूराना ऐतिहासिक चिजहरु पाइने एन्टिक पसलहरु प्रशस्तै थिए । त्यसक्रममा उनले आफुलाई मनपर्ने धेरै प्रकारका क्यामरा फेला पारे । पत्नी डोरोथीका अनुसार आफूले आँटेको कुरामा जिम लागिरहन्थे । त्यसैले उनी क्यामरा खरीदमा त्यत्तिकै रोकिएनन् र एकपछि अर्को गर्दै नयाँ नयाँ क्यामरा किनेर घर ल्याइरहे ।

मानिसहरुले आफ्ना पुरानो मोडेलका क्यामराहरु हटाएर नयाँ मोडेलका डिजिटल क्यामरा किन्न खोजिरहेको निकै उपयुक्त समय थियो त्यो । त्यसैले पनि जिमले धेरै उत्कृष्ट पुराना मोडेलका प्रशस्तै क्यामराहरु संग्रह गर्न पाएको पत्नी डोरोथी बताउँछिन् । उनी जहाँ जहाँ घुम्न जान्थे, त्यहाँबाट क्यामराहरुले भरिएका झोला बोकेर आउँथे ।

उनी कामको सिलसिलामा तथा घुमफिरको लागि जहाँ जहाँ जान्थे त्यहाँ उनी सेकेण्ड ह्याण्ड सामान पाउने बजारमा गएर क्यामरा हेरिहाल्थे । उनको लागि पोल्याण्ड निकै उपलब्धीमूलक गन्तव्य बन्यो । किनकी त्यसबेला त्यहाँका मानिसहरुले आफूसँग सोभियत कालका रुसी क्यामराहरु फ्याँकेर नयाँ डिजिटल क्यामरा किन्ने चलन बढिरहेको थियो । त्यसैले उनले पोल्याण्डमा गएको बेला रुसी मोडेलका थुप्रै क्यामरा किन्न सफल भए ।

उनी आफू गएका सबै देशहरुमा त्यहाँ रहेका नौलो मोडेलका क्यामराहरु किनेकै हुन्थे र आफु जान नपाएको खण्डमा साथीहरुलाई समेत क्यामरा किनिदिन भन्थे । ग्रेटर म्यानचेष्टरको बोल्टोनमा जन्मिएका जिम पछि इन्जिनियर क्याडेटको रुपमा सामुद्रिक जहाजमा काम गर्न गए । त्यहि बेला उनका बुवाआमा ग्लास्गो बसाइँ सरे, जहाँ उनको भेट डोरोथीसँग भयो । उनीहरुले छिटै नै बिहे गरे र ३ वटा सन्तान जन्माए ।

सामुद्रिक जहाजको इन्जिनियरको जागिर भएको हुँदा उनी संसार घुम्न पाए । उनको परिवार सात वर्ष हङकङ, २ वर्ष ग्रिस, पाँच वर्ष हल्याण्ड र १२ वर्ष क्यानडामा बस्यो । डोरोथीका अनुसार जिम घुम्नकै लागि बाँचेका थिए । उनको नघुमेको ठाउँ दुनियामा निकै कम छन् ।

हल्याण्डमा बसोबास गरिरहेको बेला नै उनीसँग क्यामराको विशाल संग्रह भैसकेको थियो, जसलाई उनले आफ्नो अफिसमा राखेका थिए । जागिरको अवकासको समय आउन थालेसँगै उनले डोरोथीको माइती नजिकै सेन्ट मोनासमा एउटा घर किने । उक्त घर उनका क्यामराहरु राख्नका लागि पर्याप्त थिएन । त्यसैले उनले नजिकै रहेको मुक्ति सेनाको एक हल पनि खरीद गरे ।

जिमले संग्रह गरेका क्यामराहरु साँच्चिकै अद्वितीय छन् । त्यसैले उनको मृत्युको ३ वर्षपछि उनकी पत्नी डोरोथी एक च्यारिटी कोषसँग मिलेर उक्त क्यामरा भएको भवन तथा त्यहाँका क्यामराका संग्रहलाई संग्रहालय बनाउने योजनामा छिन् । उनले यसका लागि काम अगाडि बढाइसकेकी छिन् । आफू हाल क्यानडामा बस्ने भएको हुँदा उक्त क्यामरा संग्रह तथा घर कुनै च्यारिटी संस्थाको नाममा हक हस्तान्तरण गर्ने सोँच उनको छ ।

स्रोत : बीबीसी

प्रतिक्रिया

सम्बन्धित खवर