२ श्रावन २०७८, शनिवार

कतै नचिनेको ठाउँमा जाँदा गुगल म्यापको प्रयोग गर्ने चलन बढ्दै गइरहेको छ । नेभिगेसनको लागि हामीले दैनिकजसो गुगल म्याप प्रयोग गर्ने भए पनि यसलाई प्रयोग गर्ने धेरै तरिका हामीलाई थाहा नहुन सक्छ, जसले हाम्रो म्यापको प्रयोगलाई अझ सहज बनाइदिन सक्छ ।

यस्ता छन् गुगल म्यापबारे जान्नैपर्ने १० सेटिङ

१. नेभिगेसन सेटिङ रिभ्यु गर्ने
गुगल म्यापलाई प्रभावकारी रुपमा प्रयोग गर्नका लागि पहिलो तरिका हो, आफ्नो फोनमा नेभिगेसन सेटिङ रिभ्यु गर्ने । कहिलेकाहिँ गुगल म्यापले सधैंजसो हिँडेको बाटोको पनि गलत नेभिगेसन दिन सक्छ ।

यसो हुनुमा गुगल म्यापको समस्याभन्दा पनि कहिलेकाहिँ तपाईंको फोनको नभिगेसन सेटिङ परिवर्तन भएको हुन सक्छ । उदाहरणको लागि तपाईंले कुनै ठाउँमा जानको लागि गुगल म्याप प्रयोग गर्नुभयो । तर तपाईंले त्यसलाई बेवास्ता गर्नुभयो र ‘अन’ नै छोड्नुभयो भने अर्कोपटक तपाईंले म्याप प्रयोग गर्नुहुदाँ तपाईंले गुगलले लामो रुट बताउन सक्छ ।

त्यसैले समय समयमा आफ्नो नेभिगेसन सेटिङलाई रिभ्यु गरिरहनु आवश्यक छ । त्यसको लागि आफ्नो आफ्नो यात्रा सुरु गर्नुपूर्व गुगल म्यापको प्रोफाइल आइकनमा जानुहोस् र सेटिङमा गएर नेभिगेसन बटनमा क्लिक गर्नुहोस् । त्यसपछि त्यहाँ भएको रुट अप्सनमा गएर आफूले चाहेअनुसार नेभिगेसनको सेटिङ व्यवस्थापन गर्न सकिन्छ ।

२. इन्कगनिटो मोड प्रयोग गर्नुहोस्
तपाईंले गुगल म्याप प्रयोग गर्न सुरु गरेपछि म्यापले पछि पछि आफैं तपाईंको लोकेसन सर्च गर्नसक्छ । तपाईंको डेटा प्रयोग गर्न सक्छ । यसमा बच्नको लागि तपाईंले इन्कग्निटो मोडमा गुगल म्याप प्रयोग गर्न सक्नुहुन्छ ।

३. लोकेसन हिस्ट्री पज गर्ने
गुगल म्यापले स्वत: रुपमा तपाईंको लोकेसन हिस्ट्री फलो नगरोस् भनेर चाहनुहुन्छ भने तपाईं यसलाई पज गर्न अर्थात् रोक्न सक्नुहुन्छ । यसका लागि म्यापको प्रोफाइल आइकनमा गएर ‘योर डाटा इन म्याप’ मा क्लिक गर्नुहोस् त्यसपछि लोकेसन हिस्ट्रीमा गएर अन बटनमा क्लिक गर्नुहोस ।

यसअन्तर्गत तपाईंको गुगल अकाउन्ट गतिविधि नियन्त्रण गर्ने पेज ओपन हुन्छ । त्यसपछि त्यहाँ लोकेसन हिस्ट्रीको साइडमा भएको निलो आइकन अफ गरिदिनुहोस् । यसले तपाईंको लोकेसन हिस्ट्री रोकिदिन्छ र तपाईंको पुरानो डाटाहरू पनि डिलिट हुन्छ

४. अफलाइनमा प्रयोग गर्ने गरी म्याप डाउनलोड गर्नुहोस्
कहिलेकाहिँ हामीहरू दुर्गम क्षेत्रतिर जादाँ त्यहाँ इन्टरनेटको पहुँच नहुन सक्छ । यसले तपाईंलाई नचिनेको ठाउँमा समस्या हुनसक्छ । त्यसको लागि तपाईं अफलाइन म्यान डाउनलोड गर्नसक्नुहुन्छ ।

अनलाइनमा जतिको अफलाइनमा ठ्याक्कै मिल्ने डेटा नहुन सक्छ । तर यसले पक्कै पनि तपाईंलाई कुनै ठाउँमा हराउनबाट भने जोगाउन सक्छ । यसको लागि म्यापको प्रोफाइल आइकनमा जानुहोस् र अफलाइन म्याप सेलेक्ट गर्नुहोस् ।

त्यसपछि सेट योर वन म्यापमा क्लिक गर्नुहोस् र त्यहाँ देखिने निलो मार्कले आफू जाने ठाउँको लोकेसन सेलेक्ट गर्नुहोस् । म्याप सेलेक्ट भइसकेपछि त्यसलाई डाउनलोड गर्नुहोस् । तपाईंले म्याप डाउनलोड गर्नुभएको दिन देखिन ३० दिनसम्म सो म्याप प्रयोग गर्न सक्नुहुनेछ ।

५. मल्टिपल स्टप अप्सन प्रयोग गर्नुहोस्
हुन त गुगलले तपाईंलाई चाहेको गन्तव्यमा सकेसम्म छोटो रुटबाट लान प्रयास गर्छ । तर कहिलेकाहिँ तपाईंलाई सिधै गन्तव्यमा जान मन नलाग्न पनि सक्छ । ठाउँ ठाउँमा रोकिएर जानुपर्ने पनि हुनसक्छ ।

यसका लागि तपाईंले म्यापको मल्टिपल स्टप अप्सन प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि पहिले आफू रोकिनुपर्ने रुट सेलेक्ट गर्नुहोस् । त्यसपछि मोबाइल स्क्रिनको दाहिनेपट्टि देखिने तीन वटा डटमा क्लिक गर्नुहोस् । त्यहाँ गएर एड स्टप आइकनमा क्लिक गर्नुहोस् । यसरी तपाईंले आफू जानुपर्ने ठाउँमा विभिन्न रुट छुट्टाएर पनि जान सक्नुहुन्छ ।

६. रिमाइन्डर सेट गर्नुहोस्
गुगल म्यापले तपाईं पुग्नुपर्ने ठाउँमा सही समयमा पुग्नका लागि रिमाइन्डर नोटिफिकेसनको पनि व्यवस्था गरेको छ ।

यसका लागि पहिले आफ्नो गन्तव्य छनौट गर्नुहोस् । त्यसपछि मोबाइल स्क्रिनको दाहिनेतिर भएको तीन वटा डट क्लिक गर्नुहोस् र सेट अ रिमाइन्डर टु लिभ भन्ने अप्सनमा जानुहोस् ।

यसरी यसमा तपाईंले आफू निस्कने समय र पुग्नुपर्ने समय सेट गर्न सक्नुहुन्छ । जसको आधारमा तपाईंको यात्राको लागि गुगल म्यापले तपाईंलाई रिमाइन्डर दिन्छ ।

७. भेहिकल आइकन प्रयोग गर्नुहाेस्
तपाईंको यात्रामा गुगल म्यापलाई थोरै रमाइलो बनाउनका लागि तपाईंले गुगल म्यापको भेहिकल आइकन परिवर्तन गर्न सक्नुहुन्छ । साधारणतया तपाईंको गुगल म्यापमा निलो रंगको भेहिकल आइकन हुन्छ ।

सो भेहिकल आइकनमा क्लिक गर्दा तपाईंले त्यसमा अन्य अप्सनहरू पनि पाउन सक्नुहुन्छ जस्तै’ गाडीको आइकन । यसरी आफूलाई मनपर्ने आइकन पनि तपाईंले प्रयोग गर्न सक्नुहुनेछ ।

८. सार्वजनिक सवारी अप्सन प्रयोग गर्नुहोस्
सामान्यतया तपाईंले गुगल म्याप प्रयोग गर्नुहुँदा आफ्नो गन्तव्य सेट गरेपछि त्यहाँ रेल जस्तो आइकन देखिन्छ । त्यो आइकनमा क्लिक गर्नुभयो भने तपाईंले जानुपर्ने ठाउँमा सार्वजनिक सवारी प्रयोग गर्दा लाग्ने समय र त्यसको रुटको विवरण पाउन सकिन्छ ।

त्योसँगै सो साधनको अप्सनमा क्लिक गर्दा तपाईंले व्हिलचेयरको पहुँच भएको रुट, थोरै हिँड्नुपर्ने रुट लगायत अन्य रुट अप्सन प्रयोग गर्न सक्नुहुन्छ, जसले तपाईंको यात्रा झन् सहज बनाइदिन सक्छ ।

९. रियल टाइम लोकेसन शेयर
तपाईंले गुगल म्याप प्रयोग गर्नुहुँदा आफ्नो लोकेसन रियल टाइममा शेयर पनि गर्न सक्नुहुन्छ । आफ्नो सुरक्षाको हिसाबले तपाईंले आफूले प्रयोग गरिरहनु भएको म्यापको रुट शेयर गर्न सक्नुहुन्छ । यसका लागि म्यापको प्रोफाइल आइकनमा जानुहोस् । त्यसपछि त्यहाँ भएको शेयर अप्सनमा क्लिक गरेर आफूले चाहेको प्लेटफर्ममार्फत लोकेसन शेयर गर्न सक्नुहुन्छ ।

१० . लोकल व्यवसायहरूको बारेमा पत्ता लगाउन म्याप प्रयोग गर्नुहोस्
तपाईंले गुगल म्यापमार्फत आफ्नो वरीपरी भएका लोकल व्यावसायहरूको लोकेसन पत्ता लगाउन मात्र होइन । सो व्यावसायहरूको बारेमा थप जानकारी पनि पाउन सक्नुहुन्छ ।

आफूले चाहेको व्यवसायको लोकेसन राखी सकेपछि त्यहाँ भएकाे ‘अबाउट’ अप्सनमा गएर तपाईं त्यहाँ पुग्ने समय मात्र होइन, त्यहाँको अन्य स्थितिहरुको बारेमा पनि जानकारी पाउन सक्नुहुन्छ ।टेकपानावाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार