
नेपाली राजदूतावास युएईले विज्ञहरूको विवरण माग गरेको छ । संयुक्त अरब इमिरेट्स (यूएई) मा कार्यरत डाक्टर, इन्जिनियर, आईटी इन्जिनियर, पाइलट, चार्टर्ड एकाउन्टेन्ट, प्राध्यापक, अनुसन्धानकर्ता, तथा विज्ञान/प्रविधि, नवप्रवर्तन, प्रबन्धन लगायतका क्षेत्रमा संलग्न नेपाली विज्ञहरूको विवरण माग गरेको हो ।
दूतावासले एक सूचना जारी गर्दै आफ्नो विज्ञता र त्यसको विवरण जानकारी दिन भनेको हो । विदेशमा रहेका विज्ञहरूले नेपालको समग्र विकास प्रक्रियामा योगदान पुर्याउने उद्देश्यले परराष्ट्र मन्त्रालयअन्तर्गतको ‘ब्रेन गेन सेन्टर सँग सहकार्य गर्ने तयारी भइरहेको जनाएको छ ।
यसअन्तर्गत यूएईमा रहेका विज्ञहरूले विभिन्न सामाजिक, शैक्षिक तथा प्रविधिसम्बन्धी विषयमा आफ्नो दक्षता र अनुभव साझा गर्दै नेपालको विकासमा सहयोग गर्ने अवसर पाउने दूतावासले उल्लेख गरेको छ । त्यसका लागि सम्बन्धित क्षेत्रमा कार्यरत नेपाली विज्ञहरूले दूतावासले उपलब्ध गराएको क्यूआर कोड स्क्यान गरी अनलाइन फाराममार्फत आफ्नो विवरण उपलब्ध गराउन अनुरोध गरिएको छ ।
दूतावासले शैक्षिक र व्यावसायिक क्षेत्रमा संलग्न व्यक्तिहरूबीच अन्तरक्रियात्मक कार्यक्रम र छलफल समेत आयोजना गरिने जनाएको छ ।
यूएईमा अध्ययनरत विद्यार्थी तथा ट्राभल/टुरिजम र अन्य व्यावसायिक क्षेत्रमा कार्यरत व्यक्तिहरूको विवरण संकलनका लागि छुट्टै सूचना प्रकाशित गरिने दूतावासले जनाएको छ ।