हिजो युवाहरूले शान्तिपूर्ण रूपमा गरेका प्रदर्शनमा राज्य संयन्त्रबाट गरिएको बर्बर हस्तक्षेप र दमनको विरोधमा आज कालीगण्डकी गाउँपालिका–४, बिर्घा गहलामस्थित गाउँपालिका कार्यालय परिसरमा कालीगण्डकीबासी स्वतःस्फूर्त रूपमा जुटेका छन्।
स्थानीय युवादेखि वृद्धवृद्धा, महिलादेखि विद्यार्थीहरूसम्मको उल्लेखनीय उपस्थिति रहेको यस प्रदर्शनले अन्याय र दमनको विरुद्ध जनस्तरबाट उब्जिएको आक्रोशलाई प्रतिविम्बित गरेको छ। ‘न्याय माग्ने आवाज दबाउन खोज्ने मानसिकता’ को सर्वत्र आलोचना भइरहेका बेला कालीगण्डकीका नागरिकहरूले संयमित तर प्रष्ट सन्देश दिएका छन्, “शान्तिपूर्ण आन्दोलन हाम्रो अधिकार हो, दमन सहिँदैनौं।”
प्रदर्शनमा राष्ट्रिय झन्डा र प्लेकार्डहरूका साथ सरकारप्रति चेतावनीपूर्ण नाराहरूसमेत गुञ्जिएका छन्। आन्दोलनकारीहरूले यस्ता अमानवीय गतिविधिको छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने माग गरेका छन्। – कालीगण्डकी संवाददाता