प्रेममान डंगोल
५ श्रावन २०७८, मंगलवार
शास्त्र र पुराणका अनुसार ब्रह्मा, इन्द्र, रुद्र, अग्नि, वरुण, कुबेर, सूर्य र सोम आदि देवताहरूले वन्दना गरिने देवताहरूका आराध्यदेव भगवान विष्णु नारायण असार शुक्ल हरिशयनी एकादशीदेखि कात्तिक शुक्ल एकादशी हरिबोधिनी एकादशी चार महिनासम्म पातालमा शेष नागको शøयामा सुत्छन् ।
यो चार महिनालााई नै चतुर्मास भनिने हो । हुन त विष्णु भगवान् सदा जागा रहन्छन् ।
तैपनि ‘यथा दे हे तथा देवे’ भनी भक्तजनहरूले शास्त्रीय विधानअनुसार विष्णु भगवान्लाई सुतिरहेकै अवस्थाका रूपमा व्यवहार गरिन्छ ।
यी चार महिनासम्म चतुर्मासको व्रत, पूजा, भजनकीर्तन, कथा वाचन गरी धार्मिक कार्य भक्तजनहरूले गरिरहन्छन् ।
हरिबोधिनी एकादशीका दिन विष्णु भगवान्लाई जागा गराउने भावले स्तोत्र पाठ, भागवत कथा, पुराण सुनेर र भजन गाएर शंख–घण्ट, मृदंग, नगरा र विभिन्न प्रकारका बाजा बजाई विभिन्न थरीका लीला गरेर नाचगान गरी विष्णु भगवान्लाई जागा गराउने प्रयास गरिन्छ ।
विष्णु भगवान्लाई जागा गराउने क्रममा मन्त्र पढेर आराधना गर्ने पनि शास्त्रमा उल्लेख गरिएको छ ।
‘उत्तिष्ठोतष्ठ गोविन्द त्यज निन्द्रा जगायते । त्वमि सुप्ते जगन्नाथ जगत सुप्त भवेदिदम् ।। उत्थिते चेष्टते सर्व मुष्ठोष्ठि माधव । गता मेघा वियजेव निर्मलं निर्मला दिशः ।। शारदानि च पुष्पाणि गृहाण मग केशव ।।’ यसरी मन्त्र पढेर विष्णु भगवान्लाई फूलैफूल चढाएर सिंगारी पञ्चदेवी पूजाको विधान अनुसार पूजा गरिन्छ । कपुर र घिउको बत्ती बालेर आरती गरिन्छ ।
त्यसपछि ‘यज्ञेन यज्ञमय जन्त देवास्तनि धर्माणि प्रथम न्यासन । तेह नाकं महिमानः सचन्त यत्र पूर्वे साध्याः सन्ति देवाः ।।’ भन्दै पुष्पाञ्जली गरिन्छ । अनि फेरि यो मन्त्र ‘इय तु द्वादशी देव प्रवोधाय् विनिर्मिता । त्वयैव सर्वलोकानां हितार्थ शेष शायिना ।। इदं व्रतं मायादेव कृतं प्रित्यै तव प्रभे । न्यूनं सम्पूर्णतां थातु त्वत्प्रसादाज्जनार्दिन ।।’ भनी प्रार्थना गरिन्छ ।
यति प्रार्थना गरिसकेपछि नारद, पराशर, प्रल्हाद, पुण्डरिक, वेदब्यास, अम्वरिस, शुक्र, शौनक र भीष्मजस्ता भक्तहरूको स्मरण गर्दै विष्णु भगवान्को चरणामृत र पञ्चामृत प्रसाद भक्तजनलाई बाँड्ने गरिन्छ ।
यो दिन दिनभरि निराहार व्रत बसेर भक्तजनहरूले विष्णु भगवान्लाई पूजा गर्छन् । यो त भयो शास्त्रीय विधानअनुसार स्तोत्र पढेर नारायणको पूजा गर्ने विधि विधान ।
हरिशयनी एकादशीका दिन घरैपिच्छे रोपिराखेको तुलसीको विवाह पनि यही हरिबोधिनी एकादशीका दिन गरिन्छ
विष्णु भगवान् चार महिनासम्म पाताल लोकमा किन बस्नुपरेको भन्ने कुरा शास्त्रमा उल्लेख भएअनुसार दैत्यराज बलि राजा अत्यन्तै धार्मिक र दानी राजा रहेछन् ।
बलि राजाले धेरै नै दान दिइरहेको पुण्यका प्रभावले देवराज इन्द्रलाई नै आफ्नो स्वर्गलोक छाड्नुपर्ने अवस्था आएछ । देवताहरूमा हाहाकार भयो । दान दिँदा पाएको पुण्यको प्रभावले शक्ति सञ्चय भई बलि राजामा घमण्ड पनि बढेछ ।
मेरो द्वारमा आउने जो कोहीले पनि खाली हात फर्किनुपर्दैन, जसले जे मागे पनि दान दिइनेछ भन्ने व्यापक प्रचार प्रसार गराएछन् र बलि राजाले दरबारको मूल ढोकामा सूचना पनि टाँस्न लगाएछन् ।
उता देवराज इन्द्रसहित सबै देवता गई विष्णु भगवान्लाई प्रार्थना गर्न थाले । देवताहरूको प्रार्थनाबाट प्रभावित विष्णु भगवान्ले बलिराजाको घमण्ड तोड्न वामनको रूप लिई बलि राजासँग भिक्षा माग्न गए र ‘तीन पाउ टेक्ने ठाउँ पाऊँ’ भनी मागे ।
विष्णु भगवान्ले मागेको पहिलो पाउले स्वर्गलोक, दोस्रो पाउले मत्र्यलोक लिइसकेपछि तेस्रो पाउ कहाँ राखूँ ? भन्दा बलिराजाले आफ्नै शिर थापि दिए । विष्णु भगवान्ले बलिराजको शीरमा पाउ राख्नेबित्तिकै बलिराजा पाताल लोकमा पुगेछन् ।
अनि बलिराजाले पनि चार महिनासम्म विष्णु भगवान् बलिराजाको पाले भई बस्नुपर्ने सर्त राखेछन् ।
विष्णु भगवान्ले पनि बलिराजाको सर्त पालना गरेर असार शुक्ल हरिशयनी एकादशीदेखि चार महिना सुतिरहने र कात्तिक शुक्ल हरिबोधिनी एकादशीका दिन जागा हुने हो भन्ने धार्मिक विश्वास छ ।
चतुर्मास भरी विष्णु भगवान्को उपासना गरेर धार्मिक परम्पराअनुसार अनुष्ठान गरी विष्णु भगवान्को महिमा पाठ गर्ने गरिन्छ
चार महिनाअघि अर्थात् हरिशयनी एकादशीका दिन घरैपिच्छे रोपिराखेको तुलसीको विवाह पनि यही हरिबोधिनी एकादशीका दिन गरिन्छ । हेर्दा तुलसी एउटा साधारण वनस्पतिझैं देखिए तापनि यसको ठूलो महŒव छ ।
विष्णु भगवान्को अति नै प्रिय र सबैले पुज्दै आएको तुलसीको बोट गंगा जलजस्तै पवित्र छ ।
तुलसीको बोटमा दिनहुँ बिहान पानी दिनुपर्छ । यो स्वास्थ्यका लागि धेरै फाइदाजनक छ ।
तुलसीको वरपरको हावा शुद्ध भइरहन्छ । तुलसीले अक्सिजन ग्यास निकाली रहने भएकाले हामीलाई अत्यन्तै फाइदाजनक हुने हो ।
धार्मिक र भौतिक रूपले फाइदाजनक भएकाले नै तुलसी रोप्ने गरिएको हो ।
विष्णु भगवान् शिर सागरमा शयन गरिरहेको समय अर्थात् असार शुक्ल हरिशयनी एकादशीदेखि कात्तिक शुक्ल हरिबोधिनी एकादशी चार महिनासम्म कुनै पनि किसिमका शुभ कार्य गर्नुहुँदैन भनी धार्मिक मान्यता रही आएकाले विवाह, व्रतबन्ध, नयाँ घर प्रवेश आदि गरिँदैन ।
ज्योतिष शास्त्रअनुसार पनि यो समयमा साइत निस्कँदैन भनिन्छ ।
शुभमंगल कार्य गर्नुप¥यो भने हरिबोधिनी एकादशीको पूर्णिमा पछि मात्र साइत आउने भएकाले नै मंसिर महिनामा विवाह, ब्रतवन्ध र विभिन्न किसिमका शुभ कार्य गरिने हो ।
वैदिक परम्पराअनुसार सूर्य उत्तरायण भइसकेपछि मात्र विवाह, ब्रतवन्धजस्ता शुभ कार्य गर्नुपर्छ भनिएको छ ।
चतुर्मास भरी विष्णु भगवान्को उपासना गरेर धार्मिक परम्पराअनुसार अनुष्ठान गरी विष्णु भगवान्को महिमा पाठ गर्ने गरिन्छ । विभिन्न स्थानमा श्रीमद्भागवत महापुराणको पाठ गर्ने र गराउने, कथा सुन्ने र सुनाउने गरिन्छ ।