दिनेश गौतम

४ भाद्र २०७७, बिहिवार

कोरोना भाइरसविरुद्ध साझा लडाइँ लड्नुपर्ने खाँचो औंल्याउँदै विज्ञले सावधानीका साथ स्वास्थ्य मापदण्ड पालना गर्न सुझाव दिएका छन्। कोरोनाको उपचार नभएकाले संक्रमण हुनबाटै जोगिनुपर्ने चिकित्सक बताउँछन्।

हाच्छिउँ गर्दा, खोक्दा निस्कने छिटाबाट संक्रमण सर्न सक्ने भएकाले सधैं मास्क लगाउन र ज्वरो आएका, खोकी लागेका तथा अन्य स्वास्थ्य समस्या भएका व्यक्तिबाट टाढा रहन उनीहरूले सुझाएका छन्। ‘संक्रमित व्यक्तिले छोएको वस्तु, ढोकाको चुकुल, कुर्सी छोएमा निरोगी व्यक्तिलाई सर्न सक्छ, यी कुराबाट जोगिन सके धेरै हदसम्म संक्रमणबाट बच्न सकिन्छ’, मुटु शल्य चिकित्सक डा. अनिल भट्टराईले भने।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जका वरिष्ठ छातीरोग विशेषज्ञ डा. निरज बम अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गर्छन्। उनी भन्छन्, ‘घरभित्रै पनि भौतिक दूरी कामय राख्नुपर्छ। कोरोनाको लक्षण देखिए तुरुन्तै नजिकैको चिकित्सकसँग परामर्श गर्नुपर्छ।’ घरबाहिर जानुपर्ने व्यक्तिले घर छिर्नेबित्तिकै साबुनपानीले हात धुने, लुगा बाहिरै खोल्ने र नुवाइधुवाइ गरेर मात्र परिवारका सदस्यसँग कुराकानी गर्नुपर्ने सुझाव उनको छ।

घरमा दीर्घ रोगी भए छुट्टै कोठा र छुट्टै बाथरुमको व्यवस्था गर्दा संक्रमण हुन पाउँदैन। अहिले युवामा बढी संक्रमण देखिएकाले वृद्धवृद्धासँग धेरै नजिक जानु हुँदैन। सेनिटाइजरको नियमित प्रयोग गर्नुपर्छ। संक्रमण भइहाल्यो भने आत्तिन नहुने वरिष्ठ मनोचिकित्सक डा. कपिलदेव उपाध्याय बताउँछन्। ‘तनावले मानसिक समस्या निम्त्याउन सक्छ। कोरोना लाग्दैमा मरिहाल्ने पनि होइन। संक्रमणपछि निको हुन्छ भन्ने उच्च मनोबल राख्नुपर्छ’, उनले भने।

अहिले कोरोनाबाहेक अन्य आपत्कालीन अवस्थाका बिरामीलाई अप्रेसन गर्नुअघि अनिवार्य पीसीआर परीक्षण गराइन्छ। स्वास्थ्यकर्मीले पीपीई लगाएर अप्रेसन गर्छन्। अप्रेसन गरेका बिरामीको नियमित पीसीआर परीक्षण गराउँछन्। ‘नसा काटिएर क्षतविक्षत भएका बिरामीको पीसीआर नगरीकनै पीपीई लगाएर अप्रेसन गरेँ। ज्यान जोगियो। पछि पीसीआर गर्दा नेगेटिभ आयो। यसरी काम गर्नु परिरहेको छ। डाक्टर, नर्स देखेपछि तर्सने वा दुव्र्यवहार नगरौं’, उपाध्यायले भने। कोरोना संक्रमणपछि सिकिस्त बिरामीलाई अस्पतालको सेटअपमै भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्छ। अहिले बाग्मती प्रदेशमा ६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन्।

बेड छुट्ट्याउन मन्त्रालयको अनुरोध

संक्रमितको संख्या वृद्धि भइरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेडिकल कलेजले एक तिहाइ र निजी अस्पतालले २० प्रतिशत बेड छुट्ट्याउनुपर्ने सूचना जारी गरेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘अस्पतालले एकदुई वर्ष कोभिड बाहेकको मात्र उपचार गर्छु भन्ने सम्भव छैन। संक्रमण बढेपछि ननकोभिड बिरामी पनि कोभिड संक्रमित हुन पुग्छन्।’ मेडिकल कलेज एवं निजी अस्पतालले कोरोना संक्रमितलाई उपचार गर्नुपर्ने उल्लेख गर्दै गौतमले भने, ‘निजी अस्पतालले संक्रमित बिरामीको उपचार गर्न आफ्नो जनशक्तिलाई तालिम दिई बेड छुट्ट्याउनु पर्छ।’ निजी अस्पताल र मेडिकल कलेजले बेड नछुट्ट्याएको पाइए पीसीआर परीक्षण गर्न दिइएको अनुमति खारेज गरिने उनले बताए।

२८ हजार नाघे संक्रमित

नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार नौ सय ३८ पुगेको छ। बुधबार मुलुकभर ६ सय ८१ जना नयाँ संक्रमित थपिएका छन्। तीमध्ये पुरुष चार सय ६५ र महिला दुई सय १६ छन्।

संक्रमितमध्ये एक सय ३१ जनाको आईसीयूमा उपचार भइरहेको छ। काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा एक सय ५९ जना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा कुल संक्रमितको संख्या दुई हजार पाँच सय पुगेको छ। हाल ११ हजार एक सय १८ संक्रमित आइसोलेसनमा छन्। त्यस्तै १३ हजार पाँच सय ७१ जना क्वारेन्टाइनमा छन्। हालसम्म एक सय २० जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ।

अन्नपूणर्पोष्टवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार