
२२ पुस २०७८, बिहीबार
१२ माघमा हुने निर्वाचनमा सत्तारुढ गठबन्धनसँग प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एक्लै चुनावी प्रतिष्पर्धामा उत्रिँदै छ ।
सत्तारुढ गठबन्धनबाट बाँकेका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाको तर्फबाट रुपन्देहीका तुलबहादुर विश्वकर्मा प्रतिष्पर्धामा छन् ।
एमालेबाट दाङका रामदायल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनार चुनावी प्रतिष्पर्धामा छन् ।
लुम्बिनी प्रदेशसभामा एमालेका ३८ सांसद र ८७ पालिकाका प्रतिनिधिको गरी ३ हजार ३९० मतभार छ । विपक्षी गठबन्धनमा कांग्रेसका १९ सांसद र ६६ पालिकाका प्रतिनिधि गरी २ हजार १०० मतभार र माओवादी केन्द्रका १९ सांसद र ४२ पालिकाका प्रतिनिधि गरी १६ सय ६८ मतभार रहेको छ । कांग्रेस र माओवादी केन्द्रको मतभार जोड्दा ३ हजार ७६८ छ ।
गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाका १ सांसद र पाँच पालिकाका प्रतिनिधि गरी १३८ मतभार छ । त्यस्तै जसपाका ६ सांसद र १४ पालिकाका प्रतिनिधि गरी ४४४ मतभार छ । त्यस्तै राप्रपाका २ र स्वतन्त्रबाट निर्वाचित १ जनाको गरी १४४ मतभार छ ।
राष्ट्रियसभामा लुम्बिनी प्रदेशबाट रिक्त रहेका महिला, दलित र अन्य समुदायका गरी तीन जनाका लागि निर्वाचन हुँदैछ । जसमा लुम्बिनी प्रदेशसभाका सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी २९३ जना मतदाता रहेका छन् ।