
२५ आषाढ २०७८, शुक्रवार
नेकपा एमालेको विवाद समाधानका लागि दोस्रो तहका नेताहरूको दौडधुप जारी छ । उनीहरू पार्टीको विवाद समाधानोन्मुख रहेको बताउँदै आएका छन् । केही समय निष्क्रिय रहेको कार्यदल सक्रिय भएर छलफल भएपछि पार्टी एकताको बिन्दुमा पुग्न लागेको नेताहरूको भनाइ छ ।
बुधबार मात्रै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटर्वाता पनि भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीकोतर्फका कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले एकताबद्ध पार्टीको घोषणा गर्न आफूहरू लागि रहेको जानकारी दिए ।
“सकभर निष्कर्षमा पुग्छौँ । संयुक्त विज्ञप्ति सानो कुरा हो । हामी पार्टीलाई एकताबद्ध भएको घोषणा गर्न लागिरहेका छौँ,” नेम्वाङले भने ।
वरिष्ठ नेता माधवकुमार नेपालको तर्फबाट कार्यदल सदस्य रहेका नेता गोकर्ण विष्टले प्रगति भइरहेकाे र सहमतिको बिन्दु नजिक पुगेको प्रतिक्रिया दिए ।
उता, राजनीति विश्लेषक श्याम श्रेष्ठ एमालेको दिगो एकता हुनसक्ने सम्भावना देख्दैनन् । पद बाँडफाँडमा कुरा मिले क्षणिकका लागि एकता हुनसक्ने उनको ठम्याइ छ ।
“एमालेको विवाद सिद्धान्त र विचारको नभएर पद र जिम्मेवारीको सन्तुलित वितरण नभएकाले, विधान अनुसार पार्टी नेतृत्व नचलेको र प्रतिनिधिसभा विघटन गरेर संविधानको उलङ्घन कारणले भएको विवाद थियो । यो विवाद तत्काल युवा पङ्क्तिले मिलाउन खोजेको देखिन्छ । युवाले पद र जिम्मेवारीको विभाजन दुवै जनालाई सम्मानजनक निकास दिएर मिलाउन खोजेपनि सल्टने सम्भावना कम छ,” उनको विश्लेषण छ ।
पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने र ओली र नेपालमध्ये एक जना अध्यक्ष र अर्को प्रधानमन्त्री बन्ने सहमति भएमा अलिक लामो समय विवाद सुल्झनसक्ने उनको विश्लेषण छ ।
“जेठ २ गते अघि पार्टी लाने कुरामा ओली ओर्लिए भने मिल्न सक्ने भयो । दुवै थरीलाई आ–आफ्नो जिम्मेवारीमा फर्कने बाटो त खुल्यो । एकलाई अध्यक्ष र अर्कोलाई प्रधानमन्त्री बनाएर जाने बाटो हुनसक्छ । तर, त्यसका लागि ओली तयार देखिँदैनन्,” उनको निष्कर्ष छ,“ओली र नेपाल दुई अध्यक्ष भए भने नेकपाकै हालत हुन्छ । एउटाले अध्यक्ष र एक जनाले प्रधानमन्त्री र पार्टी सामूहिक नेतृत्वको बाटोमा गयो भने एकता केही समयका लागि टिक्न सक्छ ।”
एमाले विवाद तत्कालका लागि समाधान भए पनि विभिन्न तीन प्रश्नहरू यथावत् रहने उनले बताए ।
“टाउको जोडाजोड गरेर मिल्ने सम्भावना होला । दुवैले कमजोरी स्वीकार गर्ने, केपी ओली सत्तामा नै रहनेगरी विवाद समाधान गर्न खोजिएको देखिन्छ । यो कुर्सीको मात्रै समस्या समाधान भयो । यति गर्दा देश र जनताको समाधान भयो त ? एमाले वामपन्थी पार्टी रह्यो त ? एमालेले जनताको मूलभूत समस्याको समाधान गर्न सक्ने भयो त ? भन्ने यी प्रश्न चोखै छ ,” उनी बताउँछन् ।
फुटको सम्भावना टरेको छैन
विश्लेषक श्रेष्ठ एमाले फुटको सम्भावना बाँकी रहेको देख्छन् । पार्टीलाई फुटको बिन्दुमा लैजाने विषयमा समाधानको बाटो नपइल्याएको उनको निष्कर्ष छ ।
“फुटको सम्भावना टरिसकेको छैन । ओलीमा पार्टीमा कसैको कन्ट्रोलमा नबस्ने, आफ्नो खटनमा पार्टी हिँडाउनेपर्ने खालको प्रवृत्ति छ । ८–१० जना मानिस बस्दैमा ओली बदली हाले त ? उनी बदलिएका छैनन् । उनलाई बदल्ने कुरा नै भएको छैन । पदको विभाजनमा एकता भयो भने त्रुटिपूर्ण हुन्छ । त्यो एकता केही समय चल्ला । पार्टी फुट्न लागेको कारण त ज्यूँका त्यूँहु छ । ओली सर्वसत्तावादी भएर पार्टी फुटको दिशमा गएको हो नि । केही पनि कुराको हेक्का नराखेर अनन्तकालसम्म म प्रधानमन्त्रीमा रहनुपर्छ भन्नाले समस्या भएको हो । झगडाको बिउमा समाधान खोजिएको छैन,” उनी भन्छन् ।
कसरी हुन्छ विवादको दीर्घकालीन समाधान ?
देश र जनातको मूलभूत मुद्दामा एमाले प्रवेश नगर्दासम्म दीर्घकालिन समाधान नहुने विश्लेषक श्रेष्ठको बुझाइ छ । देशलाई कता लैजाने भन्ने विचार र कार्यक्रमतिर जानुपर्ने उनले बताए ।
“देश र जनताको मूलभूत मुद्दा एमालेले नफर्कदासम्म दिगो समाधान हुँदैन् । विचारको एकता त भएन् । देशलाई कहाँ लाने ?, देशलाई संविधानले परिभाषित गरेको उचाइमा त लानुपर्यो । शिक्षा, स्वास्थ्य, वृद्ध, बच्चाहरूको मामलामा संविधानले परिभाषित गरेको छ । त्यो बाटोमा जान्छौँ । प्रतिनिधिसभा विटघटन गल्ती भयो, अब गर्दैनौँ भनेर विचारको बाटोमा गयो, कार्यक्रमिक बाटोमा गयो, देशलाई कता लाने, पार्टीलाई कता लाने भन्ने चर्चा नै देखिदैन,” उनले भने, “पदमा बाँडफाँड हुँदा उनीहरूको समस्या समाधान होला । देशको समाधान त हो त ? देशलाई बदल्ने विचार, कार्यक्रमबारे छलफल नगर्ने हो भने एकता दिगो हुन सक्दैन ।”
देशलाई बदल्ने कार्यक्रमबारे छललफल भए एकता वृह्त हुन सक्ने र गठबन्धन बनाएर माओवादीलाई समेत लिएर जानसक्ने अवस्था बन्ने स्थिति बन्नसक्ने उनी औँल्याँउछन् ।
त्यस्तै अर्का विश्लेषक हरि रोका एमालेभित्रको विवादले जनता मारमा परिरहेको बताउँछन् । एमालेका दोस्रो तहका नेताहरू विवाद मिलाउन भनेर लागिरहे पनि जनताले केही बुझ्न नसकेको उनको भनाइ छ ।
जनताको बारेमा सोच्नुपर्ने उनी बताउँछन् ।
बाह्रखरी बाट