ओलीको मृत्यु नभएपछि पार्टीमा दलीय समिकरण बनाएर अस्थिरता कायम गर्ने प्रचण्डका विवादीत छवि यस्ता छन्

१५ पौष २०७७, बुधवार

तत्कालिन एमालेलाई छिन्नभिन्न पारी सत्तारोहणको सपना देखेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता स्वार्थ र कब्जाको बदनियत राखेर गरेको पुष्टि भएको छ।

यस्तो पुष्टिचाहिँ सरकारविरुद्ध विरोध सभाका क्रममा प्रचण्डतिरै टाँसिएका नेता सुरेन्द्र पाण्डेको भाषणले गरेको हो। उनले पोखरामा ओलीको विरोध गर्ने क्रममा पाण्डेले भनेका थिए,‘केपी शर्मा ओलीले २० महिनामा मर्छु भनेर पार्टीको जिम्मा लिने मान्छे नभएको भन्दै प्रचण्डलाई एकतामा सहमत गराए।’

उनले अगाडि भनेका छन्,‘पार्टी एकता गर्ने कुरा भए पनि हुन्छ कि हुँदैन भन्ने द्विविधा भएको अवस्थामा ओलीले प्रचण्डलाई भेटेर आफू १८–२० महिनामै मर्ने बताएर फकाए।’

पाण्डेले ओलीलाई उदृत गर्दै भनेका थिए, ‘मलाई त डाक्टरले १८ महिनादेखि २० महिनामा मर्छ भनेको छ, म मर्ने नै हो, बाँच्ने नै होइन २२ महिना बाँचुला, पार्टी कल्लाई जिम्मा लाउने भनेर छटपटाएको बेला तपाईंजस्तो नेता पाएँ, तपाईंलाई नेता पाएर बल्ल ढुक्क भएँ।’

यसपछि एकता भएको पाण्डेको दाबी छ।

पाण्डेको तर्कले प्रचण्डको मनभित्रको प्रलोभन के थियो भन्नेलाई पनि उजागर गरेको छ। चुनावमा पत्तासाफ भइसकेको तत्कालिन नेकपा माओवादी केन्द्रलाई एमालेमा विलय गराएर २२ महिनापछि त्यसको एकल नेतृत्व र सरकारको प्रधानमन्त्री समेत बन्ने लोभ प्रचण्डमा जागेपछि एकीकरण भएको स्पष्ट हुन्छ।

प्रधानमन्त्री ओलीनिकटकाले पनि उनको मृत्युको समय कुरेर बसेकाहरूलाई असह्य भएपछि विभाजनतिरको यात्रा सुरु भएको दाबी गर्दै आएका थिए।

वास्तवमा ओली मिर्गौला रोगका पीडित रहेका बेला भएको एकता थियो। प्रत्यारोपण सफल या असफल हुने भन्ने विषयमा कुनै ग्यारेन्टि नभएको अवस्थामा मृत्यु भए पनि देशमै होस् भनेर ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल रोजेका थिए। त्यसबेलासम्म प्रचण्ड ओलीको साथमा थिए।

दुनियाँलाई चकित पार्नेगरी ओलीको प्रत्यारोपण सफल भएको र अझ १०–१५ सक्रिय हुन सक्ने परिणाम आएपछि प्रचण्डको सपना चकनाचुर भएको थियो। त्यसपछि उनले आलोपालो सरकारको विषय, प्रधानमन्त्रीमा दाबीको विषय उठाएका थिए।

त्यसमा पनि असफल हुने देखेपछि नेकपा सचिवालयमा उनले बहुमतको विषयलाई अगाडि देखाए। त्यसका लागि ओलीलाई फ्याँकेर पार्टीको अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रपतिमा झलनाथ खनाललाई लैजाने प्रस्ताव गरेका थिए।

संविधानले दुई बर्षसम्म अविश्वासको प्रस्ताव दर्ता गर्नका लागि वैधानिकता नदिएका कारण प्रचण्डले सरकारको दुई बर्ष पुग्नासाथ पदमा पुग्न प्रपञ्च गरेका घटनाक्रम सार्वजनिक भएकै थिए।

सरकारलाई असफल, बदनाम बनाउन मात्र होइन, नियमित काम कारबाही रोक्नका लागि सभामुख अग्नी सापकोटालाई पनि आफ्नो निर्देशनको पालक बनाएका थिए। जसका कारण संवैधानिक  परिषदको बैठक लामो समयदेखि बस्न सकेको थिएन। ‘पहिला त महरालाई प्रयोग गरेका थिए, महरा प्रकरणपछि उनी निलम्बित भए। त्यसपछि कोरोना महामारी आउँदा केही समय चुप लागेका प्रचण्डले अग्नी सापकोटा आउनासाथ फेरि चलखेल सुरु गरे’, स्रोतले भन्यो।

त्यसको प्रतिरोध र प्रतिवादको परिणामका रुपमा प्रतिनिधि सभा विघटनसम्मको घटना भएको स्पष्ट छ।

दैनिक नेपालवाट

प्रतिक्रिया

सम्बन्धित खवर