
७ पौष २०७७, मंगलवार
स्कटल्याण्डको ग्लास्गो रोयल इन्फर्मरीमा वरिष्ठ नर्सको रुपमा कार्यरत नेपाली स्वास्थ्य परिचारिका सरोजा अर्यालले गत शनिवार राति फेसबुकमा एउटा स्टाटसमार्फत ‘कोरोना खोपको पहिलो डोज लगाएको’ भन्दै बेलायतको नेशनल हेल्थ सर्भिसलाई धन्यवाद व्यक्त गरिन् ।
काठमाडौंकी अर्याल स्कटल्याण्डमा कोरोनाविरुद्धको खोप लगाउने अघिल्ला तीन नेपालहरुमध्येकी एक हुन् । सरोजासंगै एक जना महिला तथा एक जना पुरुष (चिकित्सक) ले कोरोना भाइरसविरुद्धको फाइजर तथा बायोएनटेकको खोप लगाइसकेका छन् । फेसबुकमा कोरोनाविरुद्धको खोप लगाएको दुई दिनपछि सरोजा अर्यालले विश्वमै बहुप्रतिक्षित रहेको उक्त खोप लगाएपछिका आफ्ना अनुभवहरु हामीसंग साटेकी छिन् । स्वास्थ्यकर्मी अर्यालले खोपको प्रतिक्षा, खोप लगाउने दिन तथा लगाइ सकेपछिका अनुभवहरु यसरी साटेकी छिन् ।
स्वास्थ्यकर्मी अर्यालको अनुभवहरु उनकै शब्दमा :
सर्वप्रथम त मलाई कोरोना विरुद्धको खोप लगाएको बारेमा आफ्ना अनुभवहरु साट्ने मौका दिनु भएकोमा हार्दिक धन्यवाद ।
कुरा कहाँबाट प्रारम्भ गरौं भन्ने लागिरहेको छ । यो कोरोना भाइरसको संक्रमणविरुद्धको खोपको प्रतिक्षा सम्पूर्ण विश्वले गरिरहेको छ ।सौभाग्यवस्, बेलायत उक्त खोप लगाउन थाल्ने पहिलो देश बनेको छ । हामी बेलायतमै स्वास्थ्य क्षेत्रमा कार्यरत रहेकाले हामीले पहिलो चरणमै खोप लगाउने सौभाग्य पायौं । खोप लगाउनका लागि म कार्यरत अस्पतालले मेरो नाम अग्रपंक्तिमै राखेको थियो ।
स्कटल्याण्डका स्थायी वासिन्दाहरुले खोप लगाउन केही असहज मानिरहेको बेला मैले चाहिँ भोलेन्टियर (स्वयंसेवक) को रुपमै लगाउनु पर्छ भने पनि मेरो नाम पहिलो नम्बरमा राख्नु भनेकी थिएँ । मैले भोलेन्टियरमा लगाउनु परेन । बेलायत सरकारले लगाउन अनुमति दिएपछि नियम अनुसार नै खोप लगाउने सूचीमा मेरो नाम समावेश भयो । केही हप्ताको प्रतिक्षापछि गत डिसेम्बर १९ का दिन मेरो खोप लगाउने पालो आयो । खोप लगाउनका घरबाट निस्कनुअघि श्रीमान् राम अर्यालले ‘अल द बेस्ट, यू आर ब्रेभ वुमन, तिमीलाई धेरै धेरै वधाइ छ’ भनेर हौस्याउनु भयो । मसंग मेरा दुबै छोरीहरु गृष्मा र श्रेया अर्यालखोप केन्द्रसम्म गएका थिए ।
उनीहरुलाई बाहिरै पर्खाएर राखेकी थिएँ ।खोप लगाउने केन्द्रमा पुग्दा म निकै खुशी र उत्साहित थिएँ ।आफूलाई सकेसम्म खुशी राख्ने प्रयास गरेकी थिएँ । खोप लगाउन थाल्नुअघि मलाई केही प्रश्नहरु सोध्नु भयो । खासगरी गर्भवती भएका महिलाले यो खोप लगाउनु नहुने रहेछ । त्यस्तै दुई महिनाभित्र गर्भवतीको योजना बनाएकाहरुले पनि यो खोप लगाउन नहुने रहेछ ।ती सबै कुराहरु सोधेपछि उहाँहरुले मलाई खोप लगाउने तयारी गर्न थाल्नु भयो । सिरिञ्जको टुप्पो अलि मोटै हुँदो रहेछ, डर पनि लाग्यो । BNT162b2 नाम भएको खोप लगाउनु भन्दा केही सेकेण्डअघि भने मेरो मनमा केही कुराहरु खेलेका थिए ।
यो खोप लगाएपछि पो केही हुने हो कि, पहिलो पटक लगाउँदै छु, केही साइड इफेक्ट पो हुने हो कि ?भन्ने कुरा खेल्न थालेको थियो । तर, मैले तत्काल आफूलाई सम्हालें । वैज्ञानिकहरुले त्यति धेरै मेहनत गरेर तयार पारेको खोप अनि बेलायत सरकारले सबै कुरा प्रमाणित भैसकेपछि लगाउनका लागि अनुमति दिएको खोप पो हो त भन्ने सोचें ।त्यो भन्दा पनि ठूलो कुरा मसंगै काम गर्ने एक जना बहिनीले यो खोप यसको ट्रायलकै क्रममा लगाएको पनि सम्झिएँ । सबै कुराले चित्त बुझाएपछि हाँसी हाँसी पाखुरामा खोप लगाएँ ।पहिलो डोजमा शून्य दशमलव ३ एमएल घोल सिरिन्जमार्फत दिइने रहेछ । खोप लगाउने क्रममा हल्का दुखे जस्तो भयो । खोप लगाउनुअघि आफूसंग कोही आएको छ कि छैन, आएको भए बाहिर कुर्न लगाउनु, रिंगटा लाग्न सक्छ भनिएको थियो ।मसंग छोरीहरु गएकाले म ढुक्क छु भनें ।खोप लगाएपछि करिव आधा घण्टा उनीहरुले त्यहिं राखे ।एउटा कुर्सीमा बसें ।आधा घण्टासम्म कुनै पनि प्रकारको समस्या जस्तै रिंगटा लाग्ने, वाकवाकी लाग्ने, ज्वरो आउने जस्ता समस्या नदेखिएपछि उनीहरुले मलाई घर पठाए ।
खोप केन्द्रबाट बाहिर आउँदा छोरीहरु भिडियो खिच्न तयार भएर बसेका रहेछन् ।उनीहरुले खोप लगाएको अनुभव सोध्दै भिडियो बनाउन थाले । ‘माइ ब्रेफ मम..तपाईंलाई धेरै धेरै वधाइ छ…’ भन्दै उनीहरुले भिडियो बनाउन थाले । मैले पनि हाँसी हाँसी सबै अनुभव सुनाएँ । सामान्यता यो खोप लगाएपछि निकै नै सामान्य साइड इफेक्टहरु हुने रहेछ । जस्तै खोप लगाएको ठाउँमा हल्का दुख्छ, मलाई पनि दुखेको थियो । हल्का थकान महसुस हुने, टाउको दुख्ने, मांसपेशीहरु दुख्ने, जोनीहरु दुख्ने, हल्का ज्वरो आउने हुने रहेछ ।अचम्मको कुरा, खोप लगाउँदा हल्का दुख्ने बाहेक मलाई कुनै पनि साइड इफेक्ट भएन ।
स्कटल्याण्डमै खोप लगाउनु हुने नेपाली चिकित्सक डा.दीपकजीले चाहिँ खोप लगाउँदा अलि बढि दुखेको कुरा बताउनु भएको थियो । शायद सिरिञ्जले उहाँको हाडमै छोएको हुनुपर्छ । चिकित्सकहरुले मलाई खोप लगाउनुअघि एलर्जीको समस्या छ कि ? भनेर पनि सोध्नु भएको थियो । खोप लगाएपछि हल्का ज्वरो आयो भने सामान्य रुपमा लिनु पर्छ, धेरै आयो भने डाक्टरको सम्पर्कमा आउनु पर्छ पनि भनिएको थियो । मैले करिव २४ घण्टासम्म आफैंले आफैंलाई अब्जरभेसन गरें । मलाई हल्का ज्वरो पनि आएन । कुनै पनि साइड इफेक्ट देखिएन । मलाई केही पनि भएन । हुन त मान्छेको शरीरको बनावट अनुसार पनि फरक पर्न सक्छ ।सबै व्यक्तिको शरीरको फङ्सन उस्तै हुँदैन । शरीरको सहन सक्ने क्षमतामा पनि भर पर्छ । मैले भनें नि इन्जेक्सन दिएको बेला चाहिं मलाई चसक्क दुखेको थियो, त्यसपछि केही पनि भएन ।मलाई चाहिं कोरोना विरुद्धको यो खोप अन्य सामान्य खोप लगाए जस्तै अनुभव भयो, जस्तो टिटासनको खोप लगाएको जस्तो ।
खोप लगाएर घर आएपछि मैले फेसबुकमा उक्त कुरा लेखें ।त्यसपछि मलाई धेरै जना साथीभाइहरुले सामाजिक सञ्जाल तथा फोनमै पनि साइड इफेक्ट भयो कि भएन भनेर सोधिरहनु भयो । अधिकांशले मलाई वधाइ पनि दिनु भयो । धेरैले चाहिं साइड इफेक्टकै बारेमा सोध्नु भयो । मैले काम गर्ने ठाउँका सहकर्मीहरुमध्ये १–२ जनालाई माइल्ड फिभर आएको रहेछ । जीउ रन्केको जस्तो भएको रहेछ । कसै–कसैले पाखुरा दुखेको कुरा पनि सुनाए । तर यी सामान्य कुरा बाहेक पछिल्लो दुई–तीनमा मैले यो खोप लगाएपछि नराम्रो केही पनि सुनेकी छैन । तर, अझै पनि हामी सबैले सचेत हुनु छाड्न हुँदैन ।
कोरोनाको खोप लगाएपछि पनि मास्क तथा ह्याण्ड हाइजिनलाई निरन्तरता दिइरहनु पर्छ । मैले पहिलो चरणको खोप लगाएको २१ दिन पुग्ने बित्तिकै एसएमएसमार्फत पुनस् दोस्रो खोप लगाउन बोलाउने भनिएको छ । दुई चरणको खोप लगाएपछि बल्ल ढुक्क हुन्छ । खोप लगाएपछि मलाई नेपालदेखि अमेरिकाबाट समेत फोन आयो । सबैलाई डर छ नि त । नयाँ खोप लगाएपछि झन् के के हुने हो ? के कस्ता साइड इफेक्टहरु देखिने हुन् भन्ने कुरा सोधिरहनु भएको छ । यो कस्तो खोप हो, लगाउँदा कस्तो अनुभव हुन्छ, लगाइसकेपछि कस्तो अनुभव हुन्छ भन्ने कुरा थाहा पाउनका लागि साथीभाइ र आफन्तहरुले फोन गरिरहनु भएको छ । कतिपयलाई डर पनि छ । केही त नहोला नि भन्ने पनि लागेको हुनुपर्छ ।म सबै जनालाई यहींबाट यो वैज्ञानिकहरुले पटक–पटक परिक्षण गरेर ल्याएको खोप भएकाले र यसले ९५ प्रतिशतसम्म काम गर्छ भनिएकाले यसले खासै नराम्रो गर्दैन भन्न चाहन्छु ।
मलाई खोप लगाउने दिन पनि खासै डर लागेन ।म सकारात्मक सोच लिएर खोप केन्द्रमा पुगेकी थिएँ । आफूले आफैंलाई पहिला देखि नै तयार पारेकी थिएँ । हुन त यो खोप लगाएपछि पनि कोभिडको संक्रमण नहोला भन्न सकिन्न, तर ९५ प्रतिशत नहुने सम्भावना छ भनिएको छ । त्यसैले कसै कसैले चाहिं आफू त्यही ५ प्रतिशतमा परियो भने के होला भनेर डराउने गर्दा रहेछन् । बेलायतले सबैभन्दा पहिला स्वास्थ्यकर्मीहरुलाई यो खोप लगाइरहेको छ । म अहिले अस्पतालको आईसियूमा कार्यरत छु । आईसियूमा पनि कोभिडका बिरामीलाई नै हेरिरहनु परेको छ । कोभिडका बिरामीहरुलाई डिल गर्नु पर्ने भएकैले मैले सबैभन्दा अग्रस्थानमा रहेर खोप लगाउने मौका पाएकीहुँ । कोभिड बिरामीहरुको सम्पर्कमा आउने स्वास्थ्यकर्मीलाई यो खोप लगाएपछि बेलायतको सरकारले सकेसम्म सबै व्यक्तिहरुलाई खोप लगाउने तयारी गरिरहेको छ भन्ने सुन्नमा आएको छ । बेलायतमा पछिल्लो समय हरेक उमेरका व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ । म अहिले २४ वर्षको एक जना कोभिड बिरामीको उपचारमा व्यस्त छु ।
अहिले केही दिन यता बेलायतमा कोरोना भाइरसको नयाँ स्वरुप देखा परेको भनिएको छ । उक्त नयाँ स्वरुपको भाइरस अझ बढी संक्रामक छ भन्ने कुरा आएको छ । हुन त वैज्ञानिकहरुले अहिले लगाइरहेको खोपले नै नयाँ भाइरसमा पनि काम गर्छ भनेका छन् । हुन त यो कोरोना भाइरस म्युटेड भैरहन्छ भनिन्छ ।अहिले बेलायतमा पनि यो भाइरस म्युटेड भएर नयाँ स्वरुपमा देखा परेको हो । त्यसैले झन् फरक खालको भाइरस आयो भन्ने छ । यद्यपि, वैज्ञानिकहरुले यही खोपले नै काम गर्छ भनिरहेका छन् ।अहिले यूकेमा १६ जनामा यो नयाँ भाइरसको संक्रमण देखियो भनिएको छ । यो अलि कडा खालको भाइरस रहेछ, यसको सिम्प्टम पनि अलि कडा नै देखिने रहेछ । तर, वैज्ञानिकहरुको भनाइमा विश्वास गर्ने हो भने अहिले आएको खोपले नै यो समस्यालाई समाधान गर्नेछ भन्ने कुरामा म विश्वस्त छु । संसार नै यसलाई निर्मूल गर्नतर्फ लागिरहेको छ । हुन त कोरोना भाइरस लामो समयसम्म शत प्रतिशत निर्मूल होला जस्तो त लाग्दैन, सबैले खोप लगाए पनि पूर्ण रुपमा निर्मूल हुन त समय लागि नै हाल्छ । म यतिबेला आफ्नो देश नेपालको अवस्था सम्झेर दुस्खी भएकी छु ।
बेलायत र अमेरिका जस्ता विकसित देशहरुमा बल्ल दिन थालिएको खोप नेपालसम्म कहिले पुग्छ होला ? सरकारले खोपका बारेमा पहल गर्नु पर्ने बेलामा अहिले नेपालको संसद नै भंग भएको, पुन: निर्वाचन हुन लागेको भन्ने खबरहरु सुनिएको छ । यसले हामी विदेशमा बस्ने नेपालीहरुलाई अति नै दु:खी बनाएको छ । सम्पूर्ण देश कोरोना विरुद्धको लडाईंमा लागेर जनताको जीवन रक्षा गर्नु पर्ने बेलामा नेताहरु आफू आफूमैं झगडा गरेर काम कुरो एकातिर कुम्लो बोकी थिमी तिर जस्तो गर्न थालेको देख्दा असाध्यै चिन्ता लागेको छ । आफ्नो देश र जनतालाई महामारीबाट कसरी बचाउने भन्ने कुरामा जुट्नु पर्ने बेलामा, चाँडो भन्दा चाँडो नेपालमा खोप ल्याउन पहल गर्नु पर्ने बेलामा नेपालमा अहिले अनावश्यक राजनीतिक खिचातानी देखिएको छ । नेपालमा दैनिक ज्यालादारी गरेर खानु पर्ने जनसंख्या ठूलो भएकाले उनीहरुलाई खोपको अति नै आवश्यकता छ । सबै नेपालीलाई खोप लगाएर महामारीबाट मुक्त गराउनका लागि पहल गर्नु पर्ने बेला हो अहिले ।
जनताको स्वास्थ्यको हेरचाहभन्दा आफ्नै कुर्सीको पछाडि लाग्ने नेताहरुले देशलाई कतातिर लैजाने हुन् ? नेपालमा खोप कसरी ल्याउने भन्ने बारेमा छलफल नै भएको सुनिंदैन । नेपालीको जीवन त केही पनि होइन जस्तो भएको छ यो पछिल्लो राजनीतिक घटनाक्रमले । बेलायतमा सरकारले लकडाउनको बेला मानिसहरुलाई खाना खानका लागि पैसा नै दियो, तलबको एउटा निश्चित प्रतिशत नै दियो । अब क्रिसमस लगत्तै पुन: कडा खालको लकडाउन हुने भनिएको छ । त्यो बेला पनि सरकारले जनताका लागि केही राहतका कार्यक्रम ल्याउँछ ।किनभने अहिलेको अवस्था भनेको आपतकालिन अवस्था हो ।सधैं यस्तो हुँदैन ।नेपालको सरकारले पनि यसबाट केही कुरा सिके राम्रो हुन्थ्यो कि जस्तो लाग्छ ।
कलाकर्मि डटकम वाट