रामचन्द्र नेपाल

टुकबहादुर थापाको घर पहिलेको वौघागुम्हा गाविस वडा नं. ४ र अहिलेको तानसेन नगरपालिका वडा नं. १३ वौघागुम्हामा पर्दछ । उहाँको उमेर ८९ वर्ष पुगेको छ । यो उमेर पुगेका धेरै जसो मानिसहरु घरमै आराम गरेर बस्छन् तर टुकबहादुर भने समाजलाई कसरी अगाडि वढाउन सकिन्छ भनेर लागिरहनु भएको छ ।
टुकबहादुर दुइ दाजुभाइ मध्ये कान्छो हुनुहुन्छ । उहाँको बाल्यकालमा गाउँमा स्कुल नभएको कारण पढन पाउनु भएन । अठार वर्षको उमेर हुँदा गाउँकै एक जना दाइको पछि लागेर भारतीय सेनामा लाहुरे हुनको लागि गोरखपुर पुग्नुभयो । त्यो बेलामा आज जस्तो लाहुरे हुनको लागि दुख थिएन । उहाँ सजिलै लाहुरे हुनुभयो । उहाँ लाहुरे हुने बेलामा मासिक १८ भारतीय रुपैयाँ थियो । उहाँले २४ वर्षसम्म भारतीय सेनामा काम गर्नुभयो र पेन्सन आउँने बेलामा ५५ रुपैयाँ पुगेको थियो । लाहुरे हँुदा उहाँ रेगरुटमा हुनु भएको थियो भने पेन्सन आउदा पोष्ट बढेर नायव सुवेदार हुनुभएको थियो ।
टुकबहादुरले सानैदेखि नयाँ नयाँ काम गर्न रुचाउनु हुन्थ्यो । लाहुरे भएपछि क्याम्पसमै पढ्न पाउने सुविधा मिल्यो । पढ्नमा निकै रुची लिनुभयो र आफ्नो पढाईलाई अगाडि वढाउनु भयो । पढाईमा राम्रो हुन थालेपछि पोष्ट पनि बढदै गयो ।
लाहुरे जीवनकैै सिलसिलामा टुकबहादुर भारतको गोरखपुर, देहरादुन,कस्मिर,नागाहिल,मद्रास लगायतका अफ्रिकी मुलुक कंगोमा समेत पुग्नुभयो कैयौँ लडाईमा भाग लिनुभयो । आफ्नै अगाडि आफ्ना साथीहरु ढलेको देखेर आफुले पनि थुपै दुश्मनहरुलाई भगाएको इतिहास अहिले पनि आँखा अगाडि झल्झली संम्झनुहुन्छ ।
टुकबहादुर २०४३ सालमा पेन्सनमा आउनुभयो । पेन्सन आईसकेपछि लामो समय सम्म भारतमै एक सेक्युरिटी कम्पनीमा अफिसर भएर काम गर्नुभयो । नेपालमा पनि सुर्खेत पुगेर तीन वर्ष सम्म सेक्युरिटी अफिसर भएर काम गर्नुभयो
करिवकरिव जीवनको आधाभन्दा धेरै समय लाहुरे र सेक्युरिटि अफिसर भएर विताउनुभएका टुकबहादुरलाई गाउँमै केही गर्नुपर्छ भन्ने लागिरहन्थ्थो परिस्थितिले गर्दा काम गर्न सकिरहनु भएको थिएन ।
घरमा आएको वखत सबैले गाविसको अध्यक्ष भएर उठ्नको लागि सल्लाह दिए । उहाँ अध्यक्षमा चुनाव लडनु भयो र चुनाव जित्नुभयो । गाउँमा विजुली बत्ती,मोटरबाटो, खानेपानी लैजानको लागि निकै मेहनत गर्नुभयो । गाउँमा विद्यालय खुलिसकेको थियो । विद्यालयलाई स्तरउन्नति गर्नको लागि कस्सिनु भयो र सफल पनि हुनुभयो । उहाँ गाविस अध्यक्ष हुँदा भएका कामहरु अहिले पनि संझन योग्य रहेको स्थानीयहरु बताउछन् ।
आफू गाविस अध्यक्ष हँुदा नेपालका विभिन्न स्थानमा घुम्ने अवसर मिल्यो । एक पटक घुम्नको लागि लम्जुङको घले गाउँमा पुग्नु भएको थियोे । त्यहाँ गाउँलेहरुले चलाएको होमस्टे देखेर आफ्नो गाउँमा पनि यस्तै गराउन पाए कस्तो हुन्थ्यो जस्तो टुकबहादुरलाई लाग्यो । फर्किएर आएपछि गाउँमै होमस्टे चलाउन सकिन्छ भनेर छलफल चलाउनुभयो
छलफल चलिरहेकै अवस्थामा काठमाण्डौको तारा गाउँ विकास समितिले पाल्पामा होमस्टे चलाउनको लागि संभावनाहरु देखेर कार्यक्रमहरु चलाईरहेको टुकबहादुरले पनि थाहा पाउनुभयो । त्यो बेलामा पाल्पाका चारबटा ठाउँमा होमस्टेको संभावनाको खोजी भैरहेको थियो । वौघागुम्हामा होमस्टेको संभावना देखेपछि तारा गाउँ विकास समितिले सहयोग पुर्याउन थाल्यो ।
आफूले सोचेजस्तो योजना आफ्नै ठाउँमा हुन थालेपछि टुकबहादुर निकै खटेर लाग्नुभयो । मगरहरुको बाहुल्य रहेको वौघागुम्हामा मगर होमस्टेको संन्चालनमा ल्याउनु भयो स्वदेशी देखि विदेशी सम्मकालाई गाउँमा भित्रयाउन टुकबहादुर सफल हुनभयो जुन अहिले पनि निरन्तर चलिरहेको छ ।
गाउँमा आउने पाहुनाहरुलाई न्यानो स्वागत गर्ने भएकाले होला अहिले पनि पाल्पाका होमस्टेहरुमा वौघागुम्हा मगर होमस्टेको नाम चर्चित रहेको छ । होमस्टेको आफ्नै भवन समेत बनिसकेको छ भने स्थानीय,प्रदेश, संघीय सरकारले सहयोग गरिरहेका छन् यसका अलावा विभिन्न संघसंस्थाको पनि यो होमस्टेमा उत्तिकै सहयोग रहेको छ ।
आफ्नो जीवनमा थुप्रै कामहरु गरेको भएपनि होमस्टे संन्चालन आफूलाई निकै मनपरेको उहाँ बताउनुहुन्छ । यसले हाम्रो जीवन परिवर्तन गर्न सक्छ नेपालका हरेक ठाउँमा होमस्टे बनाउनु जरुरी छ कुराकानीमा टुकबहादुरले भन्नुभयो ।
८९ वर्षको उमेर हुदाँ पनि पाल्पा जिल्लामा पर्यटन सम्वन्धि कुनै गोष्ठी, सेमिनार, तालिम कुनै छलफल भएको छ भने उहाँ पुग्नु हुन्छ । आफूले जानेको सीप र ज्ञान अरुलाई बाड्नुहुन्छ । कुराकानीको अत्यमा भन्नुभयो लाहुरेको पेन्सनले खान लाउन पुगेकै छ। मेरो बाँकी जीवन त होमस्टेलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर लाने हो । उमेरको प्रवाह नगरी समाजसेवामा लाग्नु भएका टुकबहादुरको जीवनबाट हामीले पनि धेरै कुरा सिक्न र आफनो ब्यवहारमा लागु गर्न सक्छाँै ।

प्रतिक्रिया

सम्बन्धित खवर