काठमाडौं — विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षक महासंघको आह्वानमा जारी आन्दोलन आज १५ औं दिनमा प्रवेश गरेको छ। देशभरका शिक्षकहरू शान्तिपूर्ण रूपमा सडकमा उत्रिएका छन् भने विद्यालयहरू बन्द भएपछि विद्यार्थीको पढाइ प्रभावित बनेको छ। यस्तै परिस्थितिमा नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतले गम्भीर सरोकार राख्दै सरकार र राजनीतिक दलहरूलाई समयमै समाधानको बाटो अपनाउन आग्रह गरेका छन्।

नेता बस्नेतले भनेका छन्, “हामीले विनम्रतापूर्वक स्वीकार गर्नैपर्छ कि संविधानका कतिपय प्रगतिशील र जनमुखी अन्तरवस्तुहरूको कार्यान्वयन प्रभावकारी रूपमा हुन सकेको छैन। संविधानले व्यवस्था गरेका विषयअनुसार आवश्यक कानुनहरू अझै पनि बन्न बाँकी छन्।” उनले संसदमा रहेका सबै राजनीतिक दलहरूलाई आ–आफ्नो जिम्मेवारी अनुरूप आत्मालोचित बन्नसमेत आग्रह गरे।

उनले स्पष्ट रूपमा विद्यालय शिक्षा विधेयकबारे शिक्षक महासंघसँग अघिल्लो सरकारले गरिसकेको सहमति र त्यसअनुरूप दर्ता भएका संशोधनहरू स्मरण गराउँदै, “सहमति कार्यान्वयनमा भइरहेको ढिलाइप्रति सरकार र राजनीतिक दलहरू विशेष गम्भीर बनून्,” भने।

बस्नेतले विद्यालय बन्द भएर शिक्षकहरू आन्दोलनमा जानु नपर्ने अवस्था हुनुपर्ने बताउँदै भने, “शान्तिपूर्ण आन्दोलनको यो भाषालाई सरकार र राजनीतिक दलहरूले सकारात्मक ढंगले बुझ्न र सम्बोधन गर्न ढिलाइ गर्नु हुँदैन। शिक्षक आन्दोलनलाई समस्या होइन, समाधानको अवसरको रूपमा बुझौं।”

उनले विद्यालय शिक्षा विधेयकसहित संसदमा विचाराधीन अवस्थामा रहेका सबै विधेयकहरू आगामी अधिवेशनबाट पारित गर्न सबै पक्षलाई प्रतिबद्ध हुन आग्रह गरे।

शिक्षकहरूको आन्दोलनलाई शिक्षा क्षेत्रका गम्भीर संरचनागत समस्याहरू समाधान गर्ने अवसरका रूपमा लिनुपर्ने र राज्यको तर्फबाट समयमै जिम्मेवारी बहन नहुँदा शिक्षा प्रणालीमा पर्ने असरको मूल्य भविष्यले तिर्नुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार