३० असोज २०७७, शुक्रवार

 

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अभिषेक रिजाल सम्मिलित मोहमडन स्पोर्टिङ क्लब भारतीय फुटबलको आइलिगको शीर्ष डिभिजनमा उक्लिएको छ ।

शुक्रबार आइलिग छनोट प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गर्ने क्रममा भवानीपुर फुटबल क्लबलाई २-० ले पराजित गर्दै मोहमडनले आइलिगमा स्थान पक्का गरेको हो । मोहमडनले ७ वर्षपछि शीर्ष डिभिजन लिगमा पुनरागमन गर्न सफल भयो । मोहमडनको जितमा भन्लाबिया छाङते र गनी निगमले १-१ गोल गरे । नेपाली फरवार्ड अभिषेकले वैकल्पिक खेलाडीका रुपमा अन्तिम १० मिनेट खेलेका थिए ।

मोहमडनले एक खेल बाँकी रहँदै शीर्ष डिभिजनमा स्थान पक्का गर्न सफल भयो । ५ टोली सहभागी प्रतियोगितामा ३ खेलमा ३ जितसहित ९ अंक जोडेपछि टोली शीर्ष स्थानमा रहने पक्का भएको हो । दोस्रो स्थानको भवानीपुरको ६ अंक भएपनि अंक बराबर भएको खण्डमा हेड टु हेडमा मोहमडन अगाडी रहने प्रावधान रहेको छ ।

मोहमडनले पछिल्लो खेलमा अहमदाबाद र्याकेट एकेडेमी फुटबल क्लबलाई ४-१ ले पराजित गर्दा अभिषेकले २ गोल गरेका थिए । उक्त खेलपछि क्लबले मुख्य प्रशिक्षक यान ललाई बर्खास्त गरेको थियो । ल आफूले भने पदबाट राजिनामा दिएको बताएका छन् ।

मोहमडनले अब अन्तिम खेलमा सोमबार बेंगलुरु युनाइटेडको सामना गर्नेछ । शीर्ष डिभिजनमा चढेसँगै अब केहि महिनामा नै सुरु हुने आइलिगमा मोहमडनले प्रतिस्पर्धा गर्न पाउनेछ ।दुई वर्षका लागि सम्झौता गरेका फरवार्ड अभिषेकले पनि शीर्ष डिभिजन लिग खेल्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर