९ असोज २०७७, शुक्रवार

एजेन्सी – स्पेनिस युवा फरवार्ड अन्सु फातीले क्याटलान क्लब बार्सिलोनासँग सम्झौता नविकरण गरेका छन् । १७ वर्षीय फातीले बार्सिलोनासँग चार वर्षको लामो सम्झौता गरेका हुन् ।

सम्झौतासँगै बार्सिलोनाले फातीको रिलिज क्लजसमेत तोकेको छ । अब कुनै पनि क्लबले फाती अनुबन्ध गर्न चाहेको खण्डमा ३६७ मिलियन पाउन्ड (४ सय मिलियन युरो) तिर्नुपर्नेछ । यसमा २११ मिलियन पाउन्ड रिलिज क्लज र १५६ मिलियन पाउन्ड अन्य बोनस लगायत रकममा तिर्नुपर्ने छ ।

नयाँ सम्झौतासँगै बार्सिलोनामा फातीले २२ नम्वरको जर्सी लगाउनेछन् । यसअघि यो जसी आर्टुरो भिडालले प्रयोग गरेका थिए । फातीले गत सिजन नै बार्सिलोनाको सिनियर टोलीमा डेब्यु गर्दै पहिलो सिजनमा नै आफ्नो प्रभाव छाडेका थिए । उनले गत सिजन बार्सिलोनाबाट ३३ खेल खेल्दा ८ गोल गरेका थिए ।

सेप्टेम्बर पहिलो साता स्पेनिस राष्ट्रिय टोलीबाट गोल गर्ने सबैभन्दा कान्छो खेलाडीको कीर्तिमान बनाएका फातीलाई बार्सिलोनाले ३१ सदस्यीय पहिलो टोलीमा समेटेको छ । अब उनले क्लबका कप्तान लियोनेल मेस्सी र एन्टोइन ग्रिजमनसँगै बार्सिलोनाको अग्रपङ्ति सम्हाल्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर