
९ श्रावन २०७८, शनिवार
टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला १० मिटर एयर राइफल इभेन्टमा सुटिङकी कल्पना परियारले राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । कल्पनाले छनोट चरणमा ६ सय १६.८ स्कोर बनाउँदै कीर्तिमान राखेकी हुन् ।
यसअघि १३ औं दक्षिण एसियाली खेलकुदमा कल्पनाले नै ६ सय १४.५ स्कोरसाथ कीर्तिमान आफ्नो नाम गरेकी थिइन् । कल्पना समग्रमा ४६ औं स्थानमा रहिन् ।
छनोटबाट शीर्ष ८ खेलाडीले मात्र फाइनल खेल्नेछन् । छनोटमा नर्वेकी हेग दुस्तादले ६ सय ३२.९ स्कोरसहित शीर्ष स्थान हासिल गरिन् । उनीसँगै दक्षिण कोरियाकी पार्क हिमुन (६३१.७), अमेरिकी मेरी टकर (६३१.४), दक्षिण कोरियाकै यूंजी क्वोन (६३०.९), फ्रान्सेली ओसिएन मुलर (६३०.७), चीनकि किआन याङ (६२८.७), स्विस निना क्रिस्तिएन र आरओसीकी अनास्तासिया गलाशिना (६२८.५) ले पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल आज नै हुनेछ । इभेन्टमा ५० जनाको सहभागिता थियो ।
कल्पनाले यसअघि सन् २०१८ मा भएको एसियाली खेलकुदमा ५ सय ९४.८ स्कोर गरेकी थिइन् ।
त्यसपछि सन् २०१९ मा नेपालमै भएको सागमा उनले प्रदर्शन सुधार गरेकी थिइन् । सागमा उनी चौथो भएकी थिइन् ।