वुधवार पाल्पामा भगवती जात्रा,परम्परा धान्न मात्रै रथ निकालिने
२७ साउन २०७७
पाल्पाको तानसेनमा निस्कने भगवति जात्रा यस वर्ष परम्परा धान्नकै लागि मात्र निकालिने भएको छ । भगवतीजात्रा विजयोत्सव मन्दिर परिसरमा मात्र निकालिने भएको हो । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरी भगवती मन्दिर व्यवस्थापन समितिले परम्परा र ईतिहास नटुटोस् भनि मन्दिर परिसरमा मात्र जात्रा सञ्चालन गर्ने तयारी गरेको छ ।
भोली वुधवार विहान १० बजेदेखी १२ बजेसम्म रथ निकालिने साईत जुरेको भएपनि समितिले पौनी १२ बजे नै रथ उठाउने तयारीमा लागेको अध्यक्ष राजेश्वर उदयले बताए ।
कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरी भगवतीको विजय उत्सवको रुपमा रहेको रथलाई ३ पटक मन्दिरको परिक्रमा गराउने, नेपाल सरकारको तर्फबाट जिल्ला प्रशासन, नेपाली सेना, प्रहरी तथा तानसेन नगरपालिकाको तर्फ पुजाआजा सलामी दिईसकेपछी सर्वसाधारण नागरिकको नाममा पुनः ३ पटक मन्दिर घुमाएर विर्सजन गर्ने कार्यक्रम रहेको अध्यक्ष उदयले बताए ।
विस १८७१ देखी १८७२ सम्मको अंग्रेजसँगको युद्वमा नेपाली सेनाले जितगढी क्षेत्रमा विजय प्राप्त गरेको सम्झना स्वरुप विस १८७६ देखी यो विजयोत्सव मनाउन थालिएको हो । तत्कालीन कर्णेल उजिरसिंह थापाको कमाण्डमा रहेका नेपाली सेनाले जितगढी नुवाकोट युद्वमा विजय प्राप्त गरेको थियो ।
विगतको समयमा विजयोत्सवको रथ बजार परिक्रमा गराउने परम्परा भएपनि यसपटक नेपाली सेनाले मात्र रथ मन्दिर वरीपरी घुमाउने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर