३ माघ २०७७, शनिवार

दाङ,जिल्लाको थारू सङ्ग्रहालय अवलोकन गर्नेको सङ्ख्यामा वृद्धि भएको छ ।

थारूको परम्परालाई हेर्न माघीको अवसरमा सङ्ग्रहालय पुग्नेको भीडभाड बढेको हो ।

दङ्गीशरण गाउँपालिका–३ चखौरास्थित सङ्ग्राहलय पुग्नेको सङ्ख्या थामी नसक्नु रहेको महतवा महासङ्घका केन्द्रीय अध्यक्ष तथा सङ्ग्राहलय निर्माणका पहलकर्ता डिल्लीबहादुर चौधरीले बताए ।

लुम्बिनी प्रदेशसभा सदस्यसमेत रहेका चौधरीले भने, “हामीले थारूको कला, संस्कार, संस्कृति तथा परम्परालाई जोगाउन यो सङ्ग्राहलयलाई निर्माण गर्यौं अहिले कला, संस्कार, संस्कृति बुझ्न माघीको अवसरमा यहाँ आउनेको सङ्ख्या निकै धेरै रहेको छ ।

” माघ १ गते करिब तीन हजारको हाराहरीमा सङ्ग्राहलय अवलोकन गरेको थियो भने माघ २ गते करिब पाँच हजारले अवलोकन गरेको उनले जानकारी दिए । माघीको अवसरमा झनै धेरैले अवलोकन गरेको उनको भनाइ छ ।

थारू समुदाय मात्रै नभई हरेक समुदायले थारू सङ्ग्रहालय अवलोकन गर्ने गरेको भन्दै यसले थारूको कला, संस्कृति, परम्परा जीवन्त राख्न मद्दत पुग्ने उनको भनाइ छ ।

सङ्ग्रहालयमा थारू संस्कृति, परम्परा, कलासँग जोडिएका चित्र, मूर्ति, नक्सा, पोशाक, गहना र परम्परागत सामग्री राखिएका छन् । थारू जातिका परम्परा, नाचगान, चाडपर्व र सामाजिक जीवन झल्किने चित्र घरको भित्तामा सजिएका छन् ।

यस्ता सामग्री हेर्नका लागि दिनप्रतिदिन मानिसको घुइँचो लाग्ने गरेको छ ।

थारू गाउँको झल्को दिने परम्परागत घर, कोठा र देउता पनि राखिएको छ ।

थारू समुदायका पुराना गहना र कपडा पनि सङ्कलन गरिएका छन् ।

थारू राजाले कसरी राज्य सञ्चालन गरेका थिए भन्ने झल्काउन मूर्ति र नक्सा कोरिएको छ । नेपालका सबै थारूको इतिहास संरक्षण हुने गरी सङ्ग्रहालय निर्माण गरिएको प्रदेशसभा सदस्य चौधरीले बताए ।

सङ्ग्रहालय राना, डंगौरा, देउखुरी, चितवन, कैलाली, कञ्चनपुर मोरङलगायत सबै ठाउँका थारूको संस्कृति र इतिहास एकै ठाउँमा देख्न पाइन्छ ।

यी सबै सामान नेपालका थारू बाहुल्यता भएको ठाउँबाट सङ्कलन गरी ल्याएको उनको भनाइ छ । यसलाई थारू जातिको अध्ययन र अनुसन्धानको केन्द्र बनाउने गरी तयारी थालिएकोसमेत उनको भनाइ छ ।

थारू जातिमा मान्छे मरेपछि घरका सबै सामान फाल्ने चलन रहेकाले केही परम्परागत सामग्री भेट्टाउनसमेत मुस्किल परेको उनले बताए ।

सो सङ्ग्राहलय पाँच बिघा क्षेत्रफलमा निर्माण भएको सङ्ग्राहलय सञ्चालक समितिका संयोजक नरेन्द्र चौधरीले बताए ।

जसमा अहिले रु ५० करोड बढीका संरचना थप गरिएको छ । पहिलोपटक दाङ जिल्लामा थारू जातिको आफ्नै पुर्खाको मूर्ति बनाएर सङ्ग्रहालयमा प्रदर्शनका लागि राखिएकाले यसले दाङ जिल्ला धेरै पाठ सिकाउने उनको भनाइ छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर