२३ श्रावन २०७८, शनिवार
सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले पूर्वपश्चिम राजमार्गको चिसापानीदेखि गड्डाचौकी र अत्तरियादेखि त्रिनगर सीमानाकासम्म सिसीटिभी क्यामेरा जडान गरेको छ ।
आर्थिक वर्ष २०७७/७८ को मन्त्रालयको कार्यक्रमअन्तर्गत रु एक करोड ५१ लाखको लागतमा सिसीटिभी क्यामेरा जडान गरिएका हुन् ।
मन्त्रालयका प्रवक्ता मोहनराज जोशीका अनुसार सडकका संवेदनशील क्षेत्रको पहिचान गरी १३८ सिसीटिभी क्यामेरा जडान गरिएका छन । जडान गरिएका सिसीटिभी क्यामेरामा पिटिजेड (घुम्ने) सात वटा र अन्य १२० क्यामेरा जडान गरिएका छन् ।
राजमार्ग क्षेत्रको धेरै व्यक्ति जमघट हुने, चौराह, दोबाटो, सार्वजनिक सम्पत्ति रहेको क्षेत्र, सरकारी कार्यालय रहेका क्षेत्रमा सिसीटिभी क्यामेरा जडानको कार्य गरिएको प्रवक्ता जोशीले बताउनुभयो । क्यामेरा जडानका लागि १०८ दशमलव ५६ किलोमिटर क्षेत्रमा केबुल बिछ्याइएको छ । सिसीटिभी क्यामेरा जडान गरिएका क्षेत्रमा १२ वटा स्टेसन राखिएको छ ।
योसँगै दुर्घटना न्यूनीकरण गर्न, ट्राफिकको समस्या निराकरण गर्न, चोरीलगायतका कार्यमा अंकुश लगाउन सडकमा राखिएको सिसीक्यामरा निकै फलदायी हुने बताइएको छ ।
“सडक नियम उल्लङ्घन गर्ने कार्यलाई निरुत्साहित गर्नका लागि सिसीटिभीले मद्दत पुर्याउँछ छ”, प्रवक्ता जोशीले भने, “विशिष्ट व्यक्तिको आगमन एवं सुरक्षा व्यवस्था मिलाउनसमेत महत्वपूर्ण भूमिका रहन्छ ।”