२९ आषाढ २०७८, मंगलवार

अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि सोमबार दिउँसोसम्म ५९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा ३१ जना पुरुष, १७ जना महिला, ५ जना बालक र ६ जना बालिका रहेका छन् ।

तीमध्ये सिन्धुपाल्चोक र तनहुँमा ५/५ जना, डोटी, पाल्पा र गोरखामा ४/४ जना, रोल्पा, दाङ, दार्चुलामा ३/३ जना, खोटाङ, पाँचथर, रौतहट, सप्तरी, चितवन, धादिङ, सिन्धुली, म्याग्दी र प्यूठानमा २/२ जना, ललितपुर, सर्लाही, काभ्रे, मकवानपुर, कास्की, अर्घाखाँची, जुम्ला, कालिकोट, बझाङ र बाजुरामा १/१ जना रहेका छन् । पछिल्लो २४ घण्टाभित्र मृत्यु भएकामध्ये खोटाङमा १ जना र सिन्धुलीमा १ जना रहेका छन् ।
बाढीपहिरो र डुबानमा परी उक्त अवधिमा ७३ जना घाइते भएका छन् । तीमध्ये ३७ जना पुरुष, १९ जना महिला, १२ जना बालक र ५ जना बालिका रहेका छन् ।

उनीहरुमध्ये तनहुँमा १० जना, पाल्पा र धादिङमा ६/६ जना, सिन्धुपाल्चोक र रोल्पामा ५/५ जना, धनुषा र सर्लाहीमा ४/४ जना, खोटाङ, कास्की, म्याग्दी र डोटीमा ३/३ जना, चितवन, वाग्लुङ, गोरखा, दाङ, जुम्ला, दार्चुलामा २/२ जना, पाँचथर, संखुवासभा, रौतहट, दोलखा, स्याङ्जा, हुम्ला, सल्यान, अछाम, बाजुरामा १/१ जना रहेका छन् । घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ ।
बाढीपहिरोमा परी २७ जना बेपत्ता भएका छन् ।

तीमध्ये १७ जना पुरुष, ६ जना महिला, ३ जना बालक र १ जना बालिका रहेका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा २० जना, चितवनमा ३ जना, पर्वतमा २ जना तथा बाजुरा र बाग्लुङमा १ जना रहेका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।
बाढीपहिरोमा परेका १ हजार २ सय ६८ जनाको विभिन्न ठाउँबाट उद्दार गरिएको छ ।

उद्धार गरिएकामध्ये मनाङमा ६ सय ५६ जना, चितवनमा ४ सय २ जना, सिन्धुपाल्चोकमा १ सय २३ जना, दोलखामा ३५ जना, नवलपरासी(पूर्व) १८ जना, लमजुङ र सल्यानबाट ८/८ जना, जाजरकोटमा ७ जना, गोरखा र दाङमा ४/४ जना र कञ्चनपुरमा ३ जना रहेका छन् । उद्धारपश्चात उनीहरुलाई तत्काल उपचारका लागि विभिन्न अस्पतालमा लगिएको थियो ।
बाढीपहिरोको कारण अवरोध भएका विभिन्न स्थानका सडक प्रहरी समेतको पहलमा सुचारु गराइएको छ । साथै वर्षाको कारण अछाम, मुस्ताङ र चितवन लगायतका स्थानहरुमा सोमबार पहिरो गई अवरोध भएका सडक पहिरो हटाइ सुचारू गराउने कार्य जारी छ ।
बाढीको कारण १ हजार ५ सय १६ वटा घर डुबानमा परेका छन् ।

५ सय ८३ वटा घर, १ सय ७ वटा गोठ, ४३ वटा पुल, ३ वटा विद्यालय र १३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ भने ८ सय ६९ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा भएका जम्मा ६ सय वटा विपद्‍का घटनाबाट १ हजार १ सय ७६ वटा घर परिवारका ५ हजार ४ सय ९५ जना मानिस विस्थापित भएका छन् ।
उक्त घटनाबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारीहरु उद्धारमा सक्रिय रुपमा संलग्न रहेका छन् ।

साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर