गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा (माओवादी केन्द्र) का मन्त्रीहरूलाई बर्खास्त गरेका छन्।

माओवादीबाट गण्डकी सरकारमा दुई जना मन्त्री थिए।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जाली मगर र सामाजिक विकास मन्त्री सुशीला सिंखडालाई मुख्यमन्त्री पाण्डेले मंगलबार मन्त्री पदबाट हटाएका हुन्। मगर म्याग्दी र सिंखडा गोरखाका हुन्।

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार कांग्रेससँग गठबन्धन तोड्दै नेकपा (एमाले) र रास्वपासहित नयाँ गठबन्धन बनाएका थिए।

नयाँ गठबन्धनले संघीय र प्रदेश सरकारहरूमा पनि आलोपालो सरकार चलाउने सहमति गरेको थियो।

संघीय सरकारमा नयाँ गठबन्धनबाट सोमबार नै ३ जना मन्त्रीले शपथ लिइसकेका थिए। त्यसपछि स्वत: कांग्रेससहित दलका मन्त्री हटेका थिए।

संघमा प्रधानमन्त्री दाहालले गठबन्धन तोडेकोले त्यसको असर प्रदेशमा पनि देखिएको छ।

गण्डकीका मुख्यमन्त्री कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका गोरखा क्षेत्र नम्बर २ को २ बाट निर्वाचित पाण्डे छन्। प्रधानमन्त्री दाहाल पनि ०७९ मंसिरमा भएको चुनावमा गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित हुन्। त्यसबेला कांग्रेस र माओवादी गठबन्धन गरेर चुनाव लडेका थिए।

मुख्यमन्त्री पाण्डेले आफूले माओवादीका दुई मन्त्रीलाई हटाएको  बताए।

‘प्रचण्डजीले माथिको समीकरण तोड्नुभयो, मैले यहाँ (गण्डकी) को तोडेँ,’ उनले भने, ‘बाँकी कुरा पछि हुँदै जान्छ।’

गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादीका सभामुखसहित ८, राप्रपाका २ र एकीकृत समाजवादीका १ जना सांसद छन्। बहुमतका लागि ३१ जना सांसद चाहिन्छ।

संघमा बनेको नयाँ गठबन्धनअनुसार गण्डकीमा सरकार बनाउन बहुमत पुग्दैन। एमालेका २२ र माओवादीका सभामुखसहित ८ जना गरी कूल ३० जना सांसद छन्। संघमा बनेको गठबन्धनमा राप्रपा र एकीकृत समाजवादी सामेल छैनन्।

प्रतिक्रिया

सम्बन्धित खवर