१३ श्रावन २०७८, बुधवार

कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बेडको अभाव हुन थालेको छ ।

अस्पतालमा कोभिड सङ्क्रमितका लागि उपलब्ध ७६ ओटा बेड सबै भरिएका छन् । असार महिनामा कोभिडका बिरामीको सङ्ख्या घटेको भएपनि सरकारले निषेध आदेश खुकुलो पारेपछि साउन यता सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ ।

कोभिड वार्डमा वेड नभएपछि सङ्क्रमतिहरुलाई इमर्जेन्सीका थप आठ वेडमा राखेर उपचार गरी राखिएको छ । इमर्जेन्सी वार्डमा रहेका बिरामीहरु कोभिड वार्डको बेड कुर्दै बसिरहेका छन् ।

पश्चिमाञ्चल क्षेत्रीय अस्तपालका कोभिड फोकल पर्सन डाक्टर शरद बरालले निषेध आदेशलाई  खुकुलो बनाएसँगै बिरामी सङ्ख्या बढ्न थालेको बताउनुभयो ।

उहाँले बिरामी भेट्न आउने आफन्तले स्वास्थ्य मापदण्ड पालना नगर्ने र बाहिर हिँड्दा जनस्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरिदिँदा सङ्क्रमित बढ्ने गरेको बताउनुभयो ।

सङक्रमित पुनः बढ्दै जाँदा स्वास्थ्यकर्मीको मनोबल भने कमजोर हुदैं गएको र अस्तपालमा बेडको व्यवस्थापन गर्न पनि कठिन भइरहेको उहाँको भनाइ छ ।

गण्डकी प्रदेश सरकारले कोभिड अस्पतालको रुपमा बिरामीहरु व्यवस्थापन गर्दै आइरहेको अस्पतालमा दैनिक ७ सय को सङ्ख्यामा सबै खाले बिरामीहरु उपचार गर्न आउने गर्दछन् ।

साउन महिना यता गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो पटक साउन १२ गते ५ सय ५८ सङ्क्रमित थपिएका छन् ।

अस्पतालले दैनिक ७० जनाको कोभिड टेस्ट गर्दै आइरहेको छ ।

अस्पतालमा बेड भरिएपनि अक्सिजनको कमी नभएको अस्पतालका निर्देशक डाक्टर भरतबहादुर खत्रीले बताउनुभयो।

प्रदेश स्वास्थ्य निर्देशक डाक्टर खीमबहादुर खड्काले पछिल्ला दिनमा हिजोभन्दा आज सङ्क्रमणको दर बढेपछि सिलिन्डरको व्यवस्थापन, बालबालिकाको उपचारका लागि स्वास्थ्य मन्त्रालयले आवश्यक तयारी थालेको बताउनुभयो ।

पछिल्लो समय प्रदेशमा कास्कीको पोखरा, नवलपुरको कावासोती, देवचुली, स्याङ्जाको पुतलीबजार, चापाकोट, फेदीखोला, गोरखाको पालुङटार लगायत स्थानमा सङ्क्रमण दर बढेको उहाँले बताउनुभयो ।

कोभिड सङ्क्रमण दर बढ्दै गरेपछि गण्डकी प्रदेशमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले साउन १० र ११ गते बैठक मार्फत प्रदेशका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्वास्थ्य कार्यालय प्रमुख, पालिकाका प्रमुख तथा अध्यक्षसँग अस्तपालमा बेड व्यवस्थापनका साथै अक्सिजनको अभाव हुन नदिन आवश्यक तयारीमा निर्देशन समेत दिनुभएको छ ।इन्सेक

प्रतिक्रिया

सम्बन्धित खवर