२० माघ २०७७, मंगलवार

हिमाली जिल्ला मनाङ जोड्ने एकमात्र बेसीसहर चामे सडक तीन दिनका लागि बन्द हुने भएको छ ।

https://amzn.to/4myfPN5

बेसीसहर चामे सडक खण्डअन्तर्गत मस्र्याङ्दी गाउँपालिका–४ स्याँगेमा सडक मर्मतका लागि यातायात बन्द हुने भएको हो ।

डुम्रे–बेसीसहर–चामे सडक योजनाअन्तर्गत स्याँगेमा सडक साँघुरो र जीर्ण भएकाले तीन दिनसम्म यातायात बन्द गरी सडक स्तरोन्नति गर्न लागिएको लमजुङ प्रशासनले जनाएको छ ।

प्रशासनले सूचना जारी गर्दै माघ २० देखि २२ गतेसम्म यातायात बन्द गरी सडक ढलान गर्ने बताएको छ ।

जीर्ण सडक खण्डअन्तर्गत करिब एक सय मिटर ढलान गरिने डुम्रे–बेसीसहर–चामे सडक योजनाले जनाएको छ ।

सडक योजनाले आइतबार जिल्ला प्रशासनलाई पत्राचार गर्दै सडक निर्माणका लागि तीन दिन यातायात बन्द गर्नुपर्ने भएकाले समन्वय गरिदिन आग्रह गरेको थियो ।
लमजुङ–मनाङ सडक खण्ड तीन दिनका लागि बन्द भएसँगै प्रत्यक्षरूपमा चारपांग्रे सवारीमा यात्रा गर्ने यात्रु र सामान ढुवानी प्रभावित हुने भएको छ ।

यद्यपि पैदल यात्री र दुईपांगे्र सवारीका लागि वैकल्पिक बाटो भएकाले चारपाँग्रे सवारीमात्रै प्रभावित हुने भएको हो ।

भौगोलिक विकटताका कारण जोखिमपूर्ण लमजुङ–मनाङ सडक भएर दैनिक सयको हाराहारीमा सवारी गुड्ने गर्छन ।

भौगोलिक विकटता र बिगँ्रदो सडकका कारण लमजुङ–मनाङ सडकमा सवारी दुर्घटनाको जोखिम उच्च छ ।

वषौँदेखि बिग्रिएको सडकले दुईपाँग्रे तथा ठूला सवारीलाई निकै समस्या भएको स्थानीयले गुनासो गर्दै आएका छन् ।

यसअघि सडक डिभिजनले बेसीसहर–चामे सडक मर्मतको जिम्मा लामा कान्छाराम नाना जेभीलाई दिएको थियोे ।

बेसीसहरदेखि रामबजारसम्म सडक स्तरवृद्धि तथा मर्मतका लागि आर्थिक वर्ष ०७४-७५ मा विनियोजित २२ करोडमा ठेक्का पाएको लामा कान्छाराम नाना जेभीले समयमा काम नसक्दा आव ०७६-७७ मा विनियोजित ३२ करोड रकमको ठेक्का नलागी फिर्ता भएको थियो ।

सडक विभागले आर्थिक वर्ष ०५१-५२ मा बेसीसहर–चामे सडक निर्माण थालेको थियो ।

द्वन्द्वका कारण सडक निर्माणमा कठिनाइ भएपछि २०५७ मा तत्कालीन शाही नेपाली सेनालाई जिम्मा लगाएको थियो ।

निर्माण सुरु भएको १९ वर्षपछि सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको थियो ।

सडक लमजुङ सदरमुकाम बेसीसहरदेखि मनाङ सदरमुकाम चामेसम्म लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर