प्रतिनिधिसभा विघटन भएर मध्यावधि निर्वाचनको मिति तोकिएपछि जिल्ला निर्वाचन कार्यालय बागलुङले तयारी थालेको छ ।

निर्वाचन आयोगको कार्यसूची अनुसार शुक्रबारदेखि मतदाता अध्यावधि तथा दावी बिरोधको काम सुरु भएको हो ।

जिल्लाका सबै स्थानीय तहमा सूचना जारी गरेर कार्यालय मतदाताको अध्यावधिका लागि दाबी बिरोधको समय तोकेको छ ।

‘कसैको दोहोरीएको वा नपरेको भए मागदाबी पेस गर्न भनेका छौं’ निर्वाचन अधिकारी शिवराम शर्माले भने ‘नाम नमिलेको, नागरिकतासँग भिडाउँदा नमिलेको वा अन्य कुनै कारण भए खुलाउन समय दिईएको हो ।’

दावी विरोधका लागि तीन दिनको समय तोकिएको छ ।

बागलुङमा पछिल्लो विवरण अनुसार १ लाख ८२ हजार ९ सय ९३ जना मतदाता रहेका छन् ।

२०७४ सालमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा १ लाख ६७ हजार २ सय ८२ थिए ।

पछिल्लो तीन वर्षमा १५ हजार ७ सय ११ जना मतदाता थपिएका छन् ।

जसमध्ये ९५ हजार २१ जना महिला र ८७ हजार ९ सय ७२ जना पुरुष रहेका छन् ।

‘मतदाता नामावली दर्ता भएकाको संख्या धेरै छ तर १८ वर्ष उमेर पुगेपछि मात्रै मतदान प्रक्रियामा सहभागि हुन मिल्ने भएकाले सबै समाबेश भएनन्’ शर्माले भने ‘महिलाको संख्या पहिलेदेखिनै बढी देखिन्छ ।’

२०७४ को आमनिर्वाचमा ८७ हजार ४ सय ३ जना महिला मतदाता हुँदा पुरुषको संख्या ७९ हजार ८ सय ७९ रहेको थियो ।

‘दाबी बिरोधको समय सकिएपछि सफाईको मौकाका लागि दुई दिनको समय हुन्छ’ शर्माले भने, ‘आयोगको निर्देशन अनुसार निर्वाचनका बाँकी प्रक्रियागत काम हुनेछन् ।
बागलुङका दुई निर्वाचन क्षेत्रमा १ सय ३ मतदान स्थल तोकिएको छ ।

सदरमुकाम बागलुङ बजारलगायतका जनघनत्व धेरै भएका पालिका मुकामहरुका मतदान स्थल धेरै रहेको कार्यालयले जनाएको छ ।

मतदाताको संख्या बढेकाले मतदान केन्द्रहरुको संख्या थप भएको भएपनि मतदान स्थल भने साविककै रहेको निर्वाचन अधिकारी शर्मा बताउँछन् ।
संख्याका आधारमा मतदान केन्द्र भने २ सय १९ पु¥याएको छ ।

‘मतदान स्थलनै थप गर्नेगरी संख्या बढेको छैन्, मतदाताको विवरण अध्यावधि भएपछि थप के गर्ने भन्ने टुंगो लगाउन सकिन्छ’ उनले भने ‘अहिलेलाई अनुमानकै आधारमा काम भैरहेका छन् ।’

बागलुङमा प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचन पश्चात सुनसान रहेको कार्यालयले मध्यावधिको घोषणापछि धमाधम काम थालेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर