६ भाद्र २०७७, शनिवार
मोरङको विराटनगर महानगरपालिका–६ सरोचियाका ४५ वर्षीय एक पुरुषको बिहीबार राति मृत्यु भयो। श्वासप्रश्वासमा समस्या भएको बताएपछि उनलाई तत्काल कोसी अस्पताल लगिएको थियो। एम्बुलेन्सबाट ओराल्दै गर्दा चिकित्सकले मृत घोषणा गरेका थिए। आफन्तले ती पुरुषको शव घरमा ल्याए।
परिवारका सदस्यले मधुमेहको पुरानै समस्याका कारण उनको मृत्यु भएको हुन सक्ने अड्कल काटे। तर, उनमा कोरोना संक्रमण भएको यथार्थ शुक्रबार दाहसंस्कार गर्न घाट लैजाने बेला मात्रै थाहा भयो। वडाध्यक्ष विजय कामतले मृतकमा कोरोना संक्रमण रहेकाले घाटमा लैजान नमिल्ने बताए। त्यसपछि नेपाली सेनाको टोली आएर शव लिएर गयो।
ती पुरुषको पीसीआर रिपोर्ट भने बुधबारै आएको रहेछ। रिपोर्टमा पोजिटिभ आएको कुरा प्रयोगशालाले प्रदेश १ को सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिकालाई जानकारी दिएको रहेछ। दुवै निकायले कोरोना देखिएकोे खबर समयमै सम्बन्धित व्यक्ति र परिवारलाई दिएनन्। ज्वरो, रुघाखोकीको समस्या देखिन थालेपछि ती पुरुषको स्वाब संकलन गरी गत सोमबार पीसीआर परीक्षण गर्न पठाइएको थियो।
‘अघिल्लो दिन पोजिटिभ रिपोर्ट आउँदा पनि कसैलाई जानकारी गराइएन’, मृतकका भान्जा सचिन कामतले भने, ‘त्यही कारण मृत्यु भइसक्दा पनि कोरोना छैन होला भनेर अन्त्येष्टिका लागि घाटसम्म लैजाने तयारी गरिएको थियो।’
कोरोना संक्रमणको खबर आएपछि परिवारका सदस्य, आफन्त र मलामी छाँगाबाट खसेजस्तै भएका छन्। मृत्युको शोकसँगै कोरोना सरेको हुन सक्ने आशंकाले उनीहरू तनावमा परेका छन्। परिवारका सदस्य र आफन्त गरेर २० जनाभन्दा बढी ‘होम क्वारेन्टाइन’मा बसेका छन्।
मृतकका २०, १८ र १५ वर्षका छोरी, १२ वर्षका छोरा र श्रीमती छन्। उनीहरू रोगले थलिएर नियमित औषधि सेवन गर्दै आएका अभिभावकको स्याहारमा खटिएका थिए। मजदुरी गरेर खाने परिवारको आर्थिक अवस्था कमजोर छ। मृतकको दाहसंस्कार गर्न पनि परिवारले ७ हजार रुपैयाँ ऋण खोजेको थियो। किशाेर बुढाथाेकीले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।