
२५ मङ्सिर २०७७ लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मिडियाले निराशा मात्रै बाँडेको दाबी गरेको भन्दै त्यसबाट भ्रमित नहुन सर्वसाधारणलाई आग्रह गरेका छन्।
बिहीबार दाङको पातुखोलामा पुलको सिलन्यास गर्दै मुख्यमन्त्री पोखरेलले अहिलेको सरकारले विकास निर्माणका काम तीव्र रुपमा गरिरहेको भए पनि रेडियो, टिभीले निराशा मात्रै बाँडेको दाबी गरेका हुन्।
‘दाङमा जे विकास हुँदैछ अन्यत्र पनि त्यही हुँदैछ,’ मुख्यमन्त्री पोखरेलले भने, ‘तर,काठमाडौंंका रेडियो, टेलिभिजनका कुरा सुन्ने हो भने कँही केही भइराखेको छैन। निराशाका कुरा मात्रै छन्। त्यसबाट तपाईंहरू भ्रमित नहुनु होला। देश बन्दै छ, बनाउँदैछौं हामीले यो कुरामा विश्वस्त रहनुहोला।’
यसअघि पनि मुख्यमन्त्री पोखरेल जहाँ पुगे पनि चर्को रुपमा मिडियाको आलोचना गर्दै आएका छन्।