काठमाडौँ, १५ मंसिर । सरकारले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुर्याउने  लक्ष्यसहित अस्पताल नभएका ६४९ मध्ये ३९६ वटा स्थानीय तहमा आज अस्पताल निर्माणको शिलान्यास गर्दै छ ।

ग्रामिण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले ५, १० र १५ शैयाका अस्पतालको भवन शिलान्यास गर्न लागिएको हो । मुलुकको भौतिक निर्माणको इतिहासमा पहिलोपटक यति धेरै सङ्ख्यामा पूर्वाधार निर्माणको शिलान्यास हुन लागेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोही पनि नागरिक आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यसहित सबै स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने सरकारको योजनाअन्तर्गत अस्पताल नभएका स्थानीय तहहरूमा एकैपटक अस्पताल शिलान्यासको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाे अनुसार पाँच शैयाका ५२, १० शैयाका १०९ र ५० शैयाका ३५ वटा अस्पताल निर्माण हुनेछन् । दुई वर्षभित्र निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउने सरकारको योजना छ । ३ सय ९६ स्थानीय तहमा भवन निर्माणका लागि यो वर्ष ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ निकासा भएको संघीय मामिला मन्त्रालयले जनाएको छ ।

अस्पताल निर्माण र उपकरण जडानका लागि करिब ५८ अर्ब रुपैयाँ खर्च हुने सरकारको अनुमान छ । सरकारले अस्पताल निर्माणका लागि आर्थिक स्रोत र जग्गासमेत सुनिश्चित गरिसकेको मन्त्रालयले जनाएको छ ।अर्थमन्त्री विष्णुप्रसाद पौडेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकालको उपस्थितिमा गत कात्तिक ३ गते अर्थ मन्त्रालयमा सम्पन्न बैठकले आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने कार्यक्रमअनुसार मंसिर १५ गते भवन निर्माणको शिलान्यास गर्ने निर्णय गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर