७ असोज २०७७, बुधवार

कान्तिपुर दैनिकवाट

काभ्रे — कोरोना संक्रमणका कारण बन्द भएका विद्यालयहरु सञ्चालनमा आउन थालेका छन् । जिल्लाको पाँचखाल नगरपालिकाले अभिभावक, विद्यालय व्यवस्थापन समिति र सरोकारवालाहरुसँग छलफल गरेर सोमबारबाट पठनपाठन सुरु गरेको छ ।

भौतिक दूरी कायम हुने गरि स्वास्थ्य सुरक्षाका सबै खाले उपाय अपनाएर सञ्चालन गर्ने निर्णय गरिको नगरप्रमुख महेश खरेलले बताए । ‘भौतिक दूरी कायम गर्छौं, एक बेञ्चमा एक जना मात्रै राखेर पठन पाठन गर्ने व्यवस्था मिलाएका छौं,’ नगरप्रमुख खरेलले भने, ‘लामो समयदेखि बन्द रहेका कारण स्वास्थ्य सुरक्षा अपनाएर विद्यालय खोल्ने निर्णय गरेका हौं ।’

नगरपालिकामा ३९ सामुदायिक र ११ निजी विद्यालय सञ्चालनमा छन् । कक्षा सञ्चालनका लागि जोर विजोर प्रणाली लागू गरिएको नगरपालिकाले जनाएको छ । सबै विद्यार्थीका लागि नगरपालिकाले माक्स वितरण गरेको छ भने साबुन खरिद गर्न विद्यालयलाई अनुदान दिएको छ ।

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले पनि भदौ १८ गते विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका जारी गरेको थियो । प्रविधिको पहुँचका आधारमा विद्यार्थीको वर्गीकरण गर्न भन्दै निर्देशिकाले सबै किसिमको प्रविधिको पहुँचभन्दा बाहिर रहेका विद्यार्थीहरुको समूहको लागि समुदायमा रहेका वा रहने सिकाइ केन्द्र वा विद्यालयमा एक आपसमा भौतिक दुरी कायम गरि बसाइ व्यवस्था मिलाइ श्रव्य दृश्य प्रविधिमार्फत सिक्ने, सिकाउने व्यवस्था गर्ने उल्लेख छ ।

शिक्षा विकाास तथा समन्वय इकाई काभ्रेका प्रमुख गोकर्णध्वज कार्कीले निर्देशिकाको व्यवस्था बमोजिम स्थानीय तहहरुले आफ्नो तहको अवस्था हेरेर कक्षा सञ्‍चालन गरिरहेको बताए । ‘प्रविधिमा पहुँचका आधारमा ५ वर्गीकरण गरी सोही अनुसार सिकाइ सहजिकरण गरिरहनुभएको छ,’ उनले भने, ‘कतै अनलाइन कक्षाको तयारी छ भने कतिपय स्थानीय तहले समुहमा बोलाएर गृहकार्य लिनेदिने पनि गरिरहनुभएको छ ।’

जिल्लाका अन्य स्थानीय तहले पनि पठनपाठनको तयारी थालेका छन् । रोशी गाउँपालिका शिक्षा शाखा प्रमुख रामबहादुर तामाङले प्रत्यक्ष सिकाइ सहजिकरणको लागि विभिन्न मापदण्ड तयार गरेको बताए ।

सहरी क्षेत्रका विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेका छन् भने ग्रामिण भेगका सामुदायिक विद्यालयले रेडियो कक्षा, प्रत्यक्ष सिकाइ सहजिकरणमा जोड दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर