
रौतहट — छात्रालाई अनुचित सन्देश पठाएको आरोप लागेका रौतहट गरुडाका एक शिक्षकलाई विद्यालयले बर्खास्त गरेको छ । शिक्षक विरुद्ध प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाएपछि उनी अहिले प्रहरी हिरासतमा छन् ।
गरुडा नगरपालिका–९ श्रीपुरस्थित श्रीमाध्यमिक विद्यालयका शिक्षक रवीन्द्रप्रसाद साहलाई विद्यालयले बिहीबार बर्खास्त गरेको हो । छात्रालाई अनुचित सन्देश पठाएको प्रकरण बाहिरिएपछि विद्यालय व्यवस्थापन समिति, वडा समिति, अभिभावक, राजनीतिक दलका प्रतिनिधि र समाजसेवीको संयुक्त बैठकले शिक्षक साहलाई बर्खास्त गरेको विद्यालय व्यवस्थापन समितिका निमित्त अध्यक्ष राजकुमार दासले जानकारी दिए ।
‘शिक्षक साहले पटकपटक छात्रालाई दुर्व्यवहार गरेको र सामाजिक दण्ड भोगे पनि कानुनी कारबाही नहुँदा मनोबल बढेको जस्तो देखियो,’ उनले भने, ‘विद्यालयको शैक्षिक वातावरण ठिक राख्नका लागि पनि शिक्षक साहलाई बर्खास्त गर्न जरुरी थियो । हामीले त्यही गरेका हौं ।’
विद्यालयमा अध्ययनरत १६ वर्षीया छात्रालाई गत आइतबार ‘ह्यापी बर्थ डे मेरी जान’ भन्दै सन्देश पठाएको अभिभावकले जानकारी पाएपछि आक्रोशित विद्यार्थी लगायत स्थानीयले साहमाथि कुटपिट र विद्यालय परिसरमा तोडफोड गरेका थिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन एक राउन्ड अश्रुग्यास हानेको थियो । त्यसलगत्तै गरुडा प्रहरीले साहलाई नियन्त्रणमा लिएको थियो ।
घटनापछि अभिभावकले इलाका प्रहरी गरुडामा उजुरी दर्ता गराएका छन् । डीएसपी राजन कार्कीले साहविरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता गरी सात दिनको म्याद लिएर अनुसन्धान थालेको जानकारी दिए । ‘पछि अनुसन्धानबाट थप खुलेमा सोहीअनुसार मुद्दा अघि बढाउछौं,’ उनले भने ।
शिक्षक साहले कक्षा ७ सम्म अंग्रेजी र कक्षा ९ मा सामाजिक विषय पढाउँदै आएका थिए ।