पाल्पा — सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउँ गाउँपालिका–५, हिउँदेखोला नजिक भासिएको सडकमा डाइभर्सन गरे पनि जोखिम भने कायमै रहेको छ । दुई वर्षअघि भासिएकै स्थानमा पुनः ५० मिटर सडक भासिएपछि डाइभर्सन गरी एकतर्फि सवारी साधन सञ्चालन गरिएको सडक डिभिजन पाल्पाले जनाएको छ ।

 

सवारी साधन एकतर्फी सञ्चालन गर्न सकिने बनाएर छाडेको डिभिजन प्रमुख बाबुराम सापकोटाले बताए ।

माथिल्लो भागमा आर्थिक वर्ष २०८०÷८१ मा सडक चौडा गरेको छ । लामो समय एकतर्फी भएको सडकमा केही महिनाअघि मात्र चौडा गरेर दुईतर्फी यातायात सञ्चालन हुँदै आएको थियो । तर पानी पर्नासाथ माथिल्लो भागबाट पहिरो खस्न सुरु गरिसकेको थियो । सडक डिभिजनले त्यही स्थानमा डोजर राखेर पहिरो पन्छाउने गरेको छ ।

भासिएकै स्थानमा गग्रेटो राखेर एकतर्फी यातायात सञ्चालन गरे पनि तत्कालीन समाधान मात्र भएको डिभिजन प्रमुख सापकोटाले बताए ।

यहाँ चुरे र महाभारत क्षेत्रको मध्यभाग पर्छ । जसले गर्दा कमजोर भूःभाग रहेको छ । ‘माटो नै अडिने खालको छैन,’ सडक डिभजिनका सूचना अधिकारी दुर्गा गौतमले भने, ‘पानी भित्रभित्रै भासिएर गएको छ । तलतल पानी बगेर भासिएको देखिएको छ ।’
हिउँदेखोलाको माथिल्लो भागमा चुनढुंगा खानी सञ्चालनमा छ । पछिल्लो समय सिद्धार्थ राजमार्ग भएर अत्यधिक भार बोकेका सवारी साधन सञ्चालन हुँदा पनि थप समस्या भएको हो । यस क्षेत्रमा नौ वर्षअघि पनि सडक भासिएको थियो । हिउँदेखोलामा माथिल्लो भागबाट गग्रेटो बगेर आउने समस्या पुरानै हो ।

यही राजमार्ग भएर दैनिक ५ हजार बढी सवारी साधन ओहोरदोहोर गर्छन् । हिउँदेखोलाको पहिरोको विषयमा यसअघि नै सडक डिभिजन र कन्सल्टेण्ट इन्जिनियरले अध्ययन पनि गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर