काठमाडौं। बुधबार बसेको सत्ता गठबन्धनको बैठकले दाङको घोराही उपमहानगरपालिकाको प्रमुख माओवादीलाई दिने निर्णय गरेको छ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा कडा प्रतिस्पर्धी रहेका नेपाली कांग्रेसका भुपबहादुर डाँगी यसपटकको निर्वाचनमा मेयरका आकांक्षी थिए। तर सत्ता गठबन्धनको बैठकले घोराही उपमहानगर माओवादी केन्द्रलाई दिने निर्णय गरेसँगै दाङ कांग्रेस भित्रै असन्तुष्टीका स्वरहरु सुनिन थालेका छन्।

गत स्थानीय तहको निर्वाचनको मतपरिणामलाई हेर्ने हो भने घोराहीमा निर्वाचित एमालेका मेयर नरुलाल चौधरीले २२ हजार ३० मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका भुपबहादुर डाँगीले १७ हजार ४८४ मत प्राप्त गरेका थिए। माओवादी केन्द्रका जीवन गौतमले १२ हजार ८२ मत प्राप्त गरेका थिए।

यस पटकको निर्वाचनमा दाङ कांग्रेसले गत निर्वाचनका प्रतिस्पर्धी भुपबहादुर डाँगीलाई उम्मेदवार बनाउने सर्बसम्मत निर्णय समेत गरेको थियो। तर केन्द्रको गठबन्धनको निर्णयले घोराही उपमहानगर कांग्रेसले गुमाउन पुगेको छ।

दाङका कांग्रेसका नेता तथा घोराही उपमहानगरका मेयरका आकांक्षी भुपबहादुर डाँगीले गठबन्धनको निर्णगप्रति असन्तुष्टी व्यक्त गरे। उनले डिसी नेपालसँगको कुराकानीमा केन्द्रले कार्यकर्ताको मनोभावना विपरित गठबन्धन लाद्नु अलोकतान्त्रिक चरित्र भएको आरोप लगाए।

उपमहानगरको प्रमुखमा यहाँको दाबी थियो केन्द्रले माओवादीलाई दिने निर्णय गर्यो तपाईं सन्तुष्ट हुनुहुन्छ? भन्ने डिसी नेपालको प्रश्नमा डाँगीले भने, ‘जीवनपर्यन्त कांग्रेस भनेर बीपीको पथप्रदशक सिद्धान्तमा लाग्यौं। तर आज आफ्नै पार्टीले कार्यकर्ताको मनोभावना विपरित जुन निर्णय गरेको छ, यो खेदजनक छ। सबै घोराहीबासी कांग्रेस कार्यकर्ता असन्तुष्ट छन् । हाम्रो सांगठनिक अबस्था मजबुत भएको स्थानमा अन्यलाई मेयर दिँदा कार्यकर्ता पंक्तिमा निराशा छाएको छ।’

डाँगीका अनुसार कांग्रेसको सांगठनिक अबस्था पहिलेदेखि नै घोराहीमा बलियो हो। उनले यसरी निर्णय गर्दा कार्यकताको मनोभावनामा चोट पुगेको बताए। डाँगीले अगाडि भने, ‘पार्टीको आफ्नै बाध्यात्मक अबस्था होला तर हाम्रो ५ हजार मत बढि भएको घोराहीमा कार्यकर्ताको अपेक्षाविपरित निर्णय भयो। केन्द्रले यसरी लाद्नु गलत भयो लोकतान्त्रिक चरित्र भएन।’

अब गठबन्धनको निर्णयलाई घोराही कांग्रेसले सहयोग गर्छ या गर्दैन? भन्ने प्रश्नमा डाँगीले गठबन्धनको निर्णय कार्यकर्ताले मान्नुपर्ने बताउँछन्। हिजोसम्म जे जस्तो भएपनि अब पार्टीको निर्णय मानेर जाने जनाए। केन्द्रको निर्णयले घोराहीबासी कार्यकर्ताको आत्मसम्मानमा चोट पुगेको उनको ठहर छ।

कांग्रेस घोराही उपमहानगर सभापति तिलक रावतले गठबन्धनले घोराही उपमहानगर दिएमा स्वीकार्य नहुने बताउँदै आएका थिए। उनले पार्टीको निर्णयप्रति असन्तुष्टि प्रकट गरेका छन्। उनले केपी आलीको प्रतिगमनको बिरुद्धको गठबन्धन भन्दै दाङको सन्र्दभमा कार्यकर्ताको भावनामाथि नेतृत्वले खेलवाड गरेको आरोप लगाए।

उनले गठबन्धनको निर्णयले दाङका क्षेत्र नं २ कार्यकर्ताहरुको अपमान गरेको बताए। डिसी नेपालसँगको कुराकानीमा रावतले अपमानजनक र अन्यायपूर्ण निर्णय भएको बताउँदै उनले २० प्रतिशत संगठन भएकालाई ८० प्रतिशतले मत दिनु आफैंमा कांग्रेस कार्यकर्तामाथिको अपमानजनक प्रहार भएको आरोप लगाए।

उनका अनुसार घोराहीका कांग्रेसी कार्यकर्ताहरुमा नैराश्यता छाएको छ। उनले भने, ‘केपी ओलीको प्रतिगमनबिरुद्ध गठबन्धन भनेर कायृकर्ताको भावनामाथि खेलवाड गर्ने काम भयो। स्थानीय आबश्यकताको आधारमा भन्ने तर केन्द्रबाट गठबन्धन लाद्ने काम भयो यसले समग्र कार्यकर्ता पराजित मानसिकतामा छन्।’
उनका अनुसार गठबन्धनको उक्त निर्णयप्रति घोराहीका सबै कांग्रेस कार्यकर्ता सन्तुष्ट छैनन्।

अब गठबन्धनको निर्णय अनुरुप माओवादीलाई सघाउँछ या के गर्छ? भन्ने डिसी नेपालको प्रश्नमा रावतले पार्टीको निर्णयलाई शिरोधार्य गर्नुपर्ने बताउँछन्। उनले असन्तुष्टीका बाबजुद केन्द्रको निर्देशन मान्नुपर्ने बाध्यात्मक अबस्था रहेको बताए।

दाङ क्षेत्र नं २ का काग्रेस सभापति भीमप्रकाश खड्का भने पार्टीले निर्णय पुर्नबिचार गर्नुपर्ने बताउँछन्। बहुसंख्यक कार्यकर्ता र मतदाताको मनोभावना विपरित भएकाले निर्णय सच्याउनु नै कांग्रेसकोलागि हितकर हुने उनको धारणा छ।

डिसी नेपालसँगको कुराकानीमा खड्काले कांग्रेसको बर्चस्व भएको घोराही उपमहानगर दिने निर्णय सरासर गलत र पार्टी हितविपरित भएको आरोप लगाए। उनले उक्त निर्णय सच्याउन समेत आग्रह गरेका छन्।

खड्काले भने ,‘दाङको २ नै क्षेत्र अझ घोराही उपमहानगर कांग्रेसको बलियो पकड भएको क्षेत्र हो। हामीले केन्द्रको यस निर्णयलाई अस्वभाबिक मानेका छौं। फिर्ता गर्न आग्रह गर्छौं। माओवादीलाई दिने निर्णयप्रति कांग्रेस कायृकर्ताले चिन्ता प्रकट गरेका छन्। भोलि नै हाम्रो जिल्ला कार्यसमितिको बैठक बस्दै छ कसरी जाने भन्ने बारेमा छलफल गर्छौं।

खड्काले मेयरमा माओवादीलाई सघाउन घोराही उपमहानगरका १९ वटा वडामध्ये १६ वटा वडा कांग्रेसले पाउनुपर्ने आफूहरुको शर्त रहेको बताए।
पार्टी केन्द्रको निर्णय अस्वभाबिक र अप्रत्याशित भएको भन्दै जिल्ला कार्य समितिको बैठकले आगामी रणनीति तय गर्ने उनको भनाइ छ।यो खवर डिसि नेपालमा  छ ।

प्रतिक्रिया

सम्बन्धित खवर