१० भाद्र २०७७, बुधवार

काठमाडौं-विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को नेपालस्थित कार्यालयका प्रतिनिधि डा. जोस भ्यानडिलिएरले कोरोनाविरुद्धको खोप आगामी वर्ष (सन् २०२१) को सुरुसम्ममा बनिसक्ने विश्वास गरेका छन् ।

बुधबार अगस्ट २६ तारिख हाे । अब सन् २०२१ आउन ३ महिना मात्र बाँकी छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमसँग कोभिड–१९ को अवस्था र बच्ने उपायबारे कुराकानी गर्दै उनले धेरै देश खोपको अध्ययनमा लागेकाले त्यो सफल हुने धारणा राखेका हुन् ।

रसिया, चीनलगायत देशमा खोपको परीक्षण अन्तिम चरणमा रहेको उनको भनाइ छ । खोप आइसकेपछि त्यसले कति समयमा र कसरी काम गर्छ भनी यकीन हुने उनको भनाइ छ ।

उनले भने, ‘खोपको डोज कति चाहिन्छ, पर्याप्त संरक्षण गर्छ गर्दैन, त्यसले कति समयसम्म काम गर्छ भन्ने हेर्नुपर्छ ।’ खोप तयार हुँदा दुई ठूलो परिमाणमा तयार हुने र पहिलो चरणमा जोखिममा रहेका समुदायले पाउने उनले जानकारी दिए ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, अरू रोग भएका व्यक्ति पछि मात्रै सर्वसाधरणसम्म त्यो खोप पुग्नेछ । खोप सबै देशले पाउने उनले विश्वास व्यक्त गरे

उनले भने, ‘विकास भएको खोप गरिब देशले पनि सहुलियतमा वा निःशुल्क पाउने प्रणाली छ ।’

भाइरस थुकलगायत छिटाबाट सर्ने हुँदा त्यसबाट जोगिएर रोगबाट बच्न सकिने उनले बताए । मास्कको प्रयोग गरेर र अरू व्यक्तिसँग दूरी कायम गर्नुपर्ने उनको सुझाव छ ।

नेपालमा स्वास्थ्यकर्मीलाई भइरहेको नराम्रो व्यवहारका कारण कुनै दिन अस्पतालमा डाक्टर र नर्स नहुन सक्नेतर्फ उनले सबैलाई सजग गराएका छन् ।

कसैले पनि आफूलाई सङ्क्रमण नहोस् भन्ने चाहेको भन्दै उनले स्वास्थ्यकर्मलाई दोष लगाउन नहुने बताए । उनका अनुसार आफू जोखिममा रहेर पनि नियमित रूपमा उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीलाई सबैले सम्मान गर्नुपर्ने उनले बताए ।

विश्वका सबै देशमा सङ्क्रमितको उपचारमा अग्रपंक्तिमा रहेर उपचारमा संलग्न हुने भएकाले स्वास्थ्यकर्मी बढी जोखिममा रहने उनले बताए ।

सबै व्यक्तिको कल्याण स्वास्थ्यकर्मीमा निर्भर रहने उनले बताए । उनले भने, ‘कोभिड र त्यसबाहेकका अरू रोगको उपचारका लागि स्वास्थ्यकर्मी नै चाहिन्छ ।’ रासस

प्रतिक्रिया

सम्बन्धित खवर