५ भाद्र २०७७, शुक्रवार

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोजनालाई जित्न तीजलाई पारिवारिक रुपमा मनाउनका लागि आग्रह गरेका छन् ।

उनले भनेका छन्, तीज जस्ता पर्वमा ठूला खालका जमघटले जोखिम बढ्ने भएकाले त्यस्ता जमघट नगरी पारिवारिक रुपमा मात्रै मनाउन हार्दिक अपील गर्दछु ।

मुख्यमन्त्रीको शुभकामनाको पूर्ण पाठ

तीज पर्वको शुभकामना

नारीहरुको महान पर्व हरितालिका (तीज) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त महिला दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

युगौंदेखि नेपालमा मौलिक ढंगले मानिदै आएको यो पर्वले सामाजिक र राजनैतिक जागरण ल्याउन महत्वपूर्ण भूमिका खेलेको छ । जहाँनिया राणा शासन, निरकुंश पञ्चायती व्यवस्था र शाही शासनको कठीन दिनहरुमा परिवर्तनका लागि नेपाली महिलाहरुले ठूलो संघर्ष गरे । संघर्षलाई सार्थक बनाउन तीज पर्र्व महत्वपूर्ण साधनका रुपमा प्रयोग भएको स्मरण गर्दछु । जनाधिकार कुण्ठित गरिएको ती काला दिनमा महिलाले तीज गीत मार्फत तत्कालीन राज्यव्यवस्थाविरुद्ध जनमत बलियो बनाउन निकै ठूलो भूमिका खेलेको सबैका सामु छर्लङ्ग छ । तीज पर्व मार्फत राजनैतिक जागरण ल्याएर नागरिकलाई संगठित गर्दै निरकुंश राज्यसत्ता विरुद्ध आन्दोलन भयो । सामाजमा आएको राजनैतिक जागरण र संगठित अभियानले आन्दोलन उत्कर्षमा पुगेर अहिलेको परिवर्तन संभव भएको हो ।

जनचाहना र जन आकांक्षा अनुसार परिवर्तनलाई संस्थागत गर्ने अभियानमा तीज पर्वले सार्थक भूमिका खेल्ने अपेक्षा मैले गरेको छु । राज्यको माथिल्लो तहदेखि तल्लो तहसम्मका सबै संरचनामा महिलाको समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरेर नेपालको संविधान विश्वमै नमूना भएको छ । महिला अधिकारसंग सम्बन्धित विभिन्न हकहरुलाई संविधानले मौलिक हकका रुपमा व्याख्या गरेको छ । संविधानमा व्यवस्थित हक अधिकारको उपयोेग गर्दै जाँदा केही वर्षमै व्यवहारिक रुपमा नतिजा देखिने छ । विगतका संघर्षबाट प्राप्त उपलब्धीको सही प्रयोग गरेर समतामुलक र समावेशी नेपाली समाज निमार्णको अभियानमा सबै जुट्न म हार्दिक अपील गर्दछु ।

हरितालिका (तीज ) पर्व पारिवारिक मिलन गराउने र सामाजिक सद्भाव बढाउने पर्व पनि हो । पारिवारिक र सामाजिक सामिप्यता बढ्दा मुलुकमा विश्वासको बातावरण बन्छ, जसले राष्ट्रिय एकता र मेलमिलाप बढाउन मद्दत गर्छ । हामी केही महिनादेखि दैनिकी कठीन रुपमा गुजारीरहेका छौं । विश्व महामारीको रुपमा फैलिएको कोभिड—१९ (कोरोना भाइरस) को असरले सिंगो समाज पिल्सिएको छ । कोभिड—१९ को जोखिमबाट नागरिकलाई जोगाउन तहगत सरकारहरुले काम गरिरहेका छन् । नागरिकको सार्थक सहयोगबाट मात्रै माहामारीलाई जित्न सकिन्छ । कोरोना विरुद्धको संघर्षलाई परिणाममुखी बनाउन सबैले सामाजिक दुरी कायम गर्दै दैनिकी अघि बढाउन आवश्यक छ । तीज जस्ता पर्वमा ठूला खालका जमघटले जोखिम बढ्ने भएकाले त्यस्ता जमघट नगरी पारिवारिक रुपमा मात्रै मनाउन हार्दिक अपील गर्दछु ।

कोभिड—१९ को जोखिम न्युनिकरणका लागि गरिएको लकडाउन र निषेधाज्ञाको पूर्णतः पालना गरेर अघि बढौं । लकडाउन र निषेधाज्ञाको पालनाले आफू, परिवार र समाजमा जोखिम कम हुने भएकाले आफू पनि पालना गरौं, अरुलाई पनि पालनाको लागि प्रेरित गरौं । कोभिड—१९ को महामारीलाई जितेपछि आगामी वर्षको तीज पर्वलाई हामीले विगतमा झै भव्य ढंगले मनाउने नै छौं ।

अन्त्यमा, हरितालिका (तीज) पर्वको अवसरमा सबैमा हार्दिक शुभकामना ।

शंकर पोखरेल
मुख्यमन्त्री
मिति २०७७ भदौ ५

प्रतिक्रिया

सम्बन्धित खवर