१९ माघ २०७७, सोमवार

उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्वाचन नचाहने पक्षले निर्वाचन आयोगलाई धम्की दिइरहेको बताएका छन् ।

सदरमुकाम विदुरमा नेकपा ओली समूहको आयोजनामा आज भएको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री पोखरेलले सो कुरा बताएका हुन् ।

उपप्रधानमन्त्री पोखरेलले भने– ‘तोकिएको समयमा निर्वाचन नहोस् भन्ने पक्षले चलाएको हल्लाको पछि लाग्नु हुँदैन ।

दल दर्ता, निर्वाचन कार्यक्रम सञ्चालन नगर भनिरहेका छन् । गलत दवाव र धम्कीले निर्वाचन रोकिँदैन ।’

उपप्रधानमन्त्री पोखरेलले तोकिएको समयमा नै प्रतिनिधिसभा निर्वाचन हुने बताए ।

कोही कसैले पनि तोकिएका समयमा निर्वाचन होला कि नहोला भनेर आशङ्का गर्नुपर्ने अवस्था नभएको स्पष्ट पारे ।

मुलुकलाई अस्थिरता र प्रतिक्रान्तितिर लैजाने षड्यन्त्र रोकेर मुलुकलाई स्थायित्व दिनका लागि निर्वाचन गर्न लागिएको स्पष्ट पार्दै  नेकपा सचिवालय सदस्य पोखरेलले अदालतले गरेको निर्णयलाई स्वीकारिने बताए ।

पत्रकार सम्मेलनमा उद्योग, वाणिज्य तथा  आपूर्तिमन्त्री लेखराज भट्टले पार्टी नेतृत्वलाई प्रतिक्रान्तिबाट बचाउनका लागि नै नयाँ जनादेश प्राप्त गर्न निर्वाचनमा जानुपरेको बताए ।

यसैबीच आज नै जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक काम गर्न निर्देशन दिए ।

उनले नागरिकलाई दिइने दैनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनका लागि कार्यालय कार्यालयबीच समन्वयको खाँचोमा जोड दिए । कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जिल्लाको वस्तुस्थिति र समस्याका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर