९ पुष २०७७

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आएको फुटसँगै पश्चिम नवलपरासीका जनप्रतिनिधिबीच पनि कित्ताकाट सुरु भएको छ । प्रधानमन्त्री केपी ओली समूह र पुष्पकमल दाहाल-माधव नेपाल खेमाले जिल्लामा आफूहरूको वर्चस्व रहेको दाबी गरेका छन् । यद्यपि, धेरैजसो जनप्रतिनिधि ओली पक्षका देखिएका छन् ।

लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री एवं प्रवक्ता बैजनाथ चौधरी, राष्ट्रियसभा सदस्य रामलखन हरिजन, प्रदेशसभा सदस्य दीपेन्द्र अधिकारी, बर्दघाट नगरप्रमुख धीरज शर्मा बस्याल, उपप्रमुख माया पौडेल खुलेरै ओली समूहमा लागेका छन् ।

यस्तै, सुनवल नगर उपप्रमुख दधिराम अर्याल, सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे र उपाध्यक्ष इन्द्रकुुमारी थरूनी पनि ओली समूहमा देखिएका छन् । यसैगरी प्रदेशसभा सदस्य भगवती भण्डारी र पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले प्रचण्ड-नेपाल समूहलाई साथ दिएका छन् ।

भण्डारीले ओली पक्षीय केन्द्रीय समितिमा बिनाजानकारी आफूलाई मनोनीत गरेको भन्दै त्यसमा बस्न अस्वीकार गरेका छन् । भण्डारीसँगै नेकपा प्रदेश सदस्य वृहस्पति अधिकारीले पनि ओली समूहको केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् । शपथ ग्रहणमा पनि सहभागी नहुने उनीहरूले बताए । ‘प्रधानमन्त्रीको नेकपा केन्द्रीय समिति सदस्यमा बस्न अस्वीकार गरेको छु’, अधिकारीले भने, ‘अहिले कतै लागिहाल्ने सोच बनाएको छैन ।’

नेकपा एकीकरणताका कार्यदलमा सक्रिय शिवलाल कँडेलले भने ओली कदमको विरोध गरेका छन् । यस्तै, पूर्व स्थानीय विकास राज्यमन्त्री घनश्याम यादव, संविधानसभा सदस्य सीता बौडेल, दुलारी हरिजन प्रचण्ड-नेपाल समूहमा र सिन्धुजलेसा ओली समूहमै रहेको बुझिएको छ ।

नेकपा जिल्ला अध्यक्ष भवीश्वर तिवारी प्रचण्ड-नेपाल समूह र जिल्ला नेतृत्वमै रहेका तुलसी पासी, विमला अर्याल, सरिता खनाल, बद्री खनाल, थानप्रसाद गैरे र वीरेन्द्र यादवले ओलीलाई समर्थन गरेका छन् ।

ओली समूहले पासी, अर्याल, खनालद्वय, गैरे र यादवलाई केन्द्रीय समितिमा समेत मनोनयन गरेको छ । अर्याल, हरिजन र सरिताले ओली समूहको केन्द्रीय समितिमा शपथ ग्रहण गरेका छन् । बद्री खनाल र सरिता खनाल श्रीमान्-श्रीमती हुन् ।

पार्टी फुटको असर युवा विद्यार्थी फाँटमा पनि देखिएको छ । राष्ट्रिय युवा संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष किरण पौडेल, रमेश पौडेल, जिल्ला संयोजक युवराज डुम्रे र अनेरास्ववियुका जिल्ला अध्यक्ष सुशान्त शर्मासमेत ओली समूहमा पुगेका छन् ।

युवा संघका केन्द्रीय सदस्य केयरसिंह कुँवर, प्रकाश भट्टराई, रामु पाण्डे र जिल्ला सहसंयोजक दीपक राना प्रचण्ड-नेपाल समूहका देखिएका छन् । यस्तै, अनेरास्ववियुका केन्द्रीय सदस्य अमित खड्का र जिल्ला सहसंयोजक विशाल गिरी प्रचण्ड-नेपाल समूहमा लागेको बुझिएको छ ।

दुईवटा प्रतिनिधिसभा क्षेत्रमध्ये १ बाट वर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले सूर्य चिह्नबाट चुनाव जितेका थिए । उनी स्वतन्त्र राजनीतिक समूहमा आबद्ध छन् । त्रिपाठीका समर्थक अजय शाही प्रदेशसभा सदस्य छन् । उनीहरूले कुन पक्षलाई समर्थन गर्ने हुन्, अहिलेसम्म खुलेका छैनन् ।

पश्चिम नवलपरासीका अधिकांश नेता, कार्यकर्ता केन्द्रको र स्थानीय बहुमत हेरेर कता लाग्ने भन्ने निर्क्योल गर्ने क्रम बढ्दो छ । ओली समूहका युवाहरूले पार्टी कार्यालयमा तालाबन्दी र प्रचण्ड-नेपाल समूहका युवा विद्यार्थीले प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शनसमेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर