
२३ पौष २०७७, बिहिवार
गण्डकी प्रदेश सभाको विशेष अधिवेशन मंगलबारदेखि सुरु भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी, नेपालले विशेष अधिवेशन बोलाउन माग गरेपछि मंगलबारदेखि गण्डकी प्रदेश सभाको विशेष अधिवेशन सुरु भएको हो ।
गण्डकी प्रदेश सभाको यस विशेष अधिवेशनमा कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका बारेमा साझा संकल्पका रूपमा प्रस्तुत गर्ने निर्णय भएको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।
अधिवेशनमा गरिबी निवारण, बेरोजगारी समस्या समाधान र प्रदेश सरकारले अघि बढाएका वहुवर्षिय योजनाहरुको व्यवस्थापन र कार्यान्वयनको सम्वन्धमा सार्वजनिक महत्वको विषयमा छलफल हुने उनले बताए ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रको विवादका कारण प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुन सक्ने राजनीतिक आँकलनकाबीच मुख्यमन्त्री गुरुङले आफू अल्पमतमा नपर्ने दाबी गरे ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव पक्षका प्रदेशसभा सदस्य दीपक कोइरालाले मुख्यमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमको पक्षपोषण गरिरहेको र आफूहरुले उक्त कदमको विरोध गरिरहेका कारण नयाँ सरकारका निम्ति नयाँ खालको गठबन्धनको खोजि हुने बताए ।
कस्तो गठबन्धन बन्ने भन्ने तय भइनसकेको भन्दै उनले नेकपाको पार्टी आधिकारिकताको विवादका कारण निर्णय गरेर अघि बढ्न नसकेको उनको भनाइ छ ।
जनता समाजवादी पार्टी, नेपालका प्रदेश सभा सदस्य हरिशरण आचार्यले प्रदेश सभाको अधिवेशनमा सार्वजनिक महत्वको प्रस्ताव छुट्टै बनाएर पेश गर्ने र संकल्प प्रस्ताव भने साझा रुपमा पेश गर्ने सहमति भएको बताउनुभयो । सत्तारुढ दलले बलियो सरकार बनाउन जनमत पाएको भए पनि हरियो जंगल फाँडेर मरुभूमि बनाएको टिप्पणी गरे । जसपाको ध्यान सरकारतर्फ नभएको उहाँको भनाई छ ।
गण्डकी प्रदेश सभाको अर्को बैठक पुस २६ गते बोलाइएको छ । २६ गते सार्वजनिक महत्वको विषयमा छलफल गरिने र हप्तादिनपछि बस्ने बैठकमा कोभिड–१९ का बारेमा साझा संकल्प प्रस्तुत हुने बताइएको छ ।