३ मङ्सिर २०७७ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लगाएका आरोपको कांग्रेसले पनि जवाफ माग्ने बताएका छन् ।
कात्तिक २८ गतेको सचिवालय बैठकमा दाहालले सरकार सञ्चालनलाई लिएर प्रधानमन्त्रीमाथि लगाएका आरोप राष्ट्रिय सरोकारका भएकाले त्यसको हिसाबकिताब संसद् र सडकबाट मागिने बताएका छन् ।
बुधबार एक प्रेस विज्ञप्ति निकाल्दै नेता थापाले नेकपाभित्रको झगडामा दुई वटा पक्ष रहेको बताएका छन् । जसमा पहिलो नेकपा सञ्चालनको आन्तरिक विषय र दोस्रो नेकपा नेतृत्वको सरकार सञ्चालनको विषय रहेको उनको भनाइ छ ।
उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पुष्पकमल दाहालले खड्गप्रसाद ओलीमाथि लगाएको आरोप नौला विषय छैनन् र गलत पनि होइनन्, संसद्, सडक सबैतिरबाट प्रधानमन्त्री ओली विरुद्ध उठ्दै र लाग्दै आएका आरोप हुन् ।’
पार्टी सञ्चालनको सन्दर्भमा रहेका मतभेदका बारेमा नेकपाका नेताहरुले नै छलफल गर्ने विषय भएको थापाले विज्ञप्तिमा उल्लेख गरेका छन ।
सरकार सञ्चालन गर्दा देखिएका अनियमितता, भ्रष्टाचार, अपराध, कुशासनलगायतका विषय सार्वजनिक चासोको विषय भएकोले यसबारेमा प्रधानमन्त्री र नेकपाले उत्तर दिनुपर्ने नेता थापाले बताएका छन्।
‘नेकपाको आन्तरिक शक्ति सङ्घर्ष र कलहबीच विदेशी गुप्तचर प्रमुखसँग प्रधानमन्त्रीको भेटको विषय अनि नेकपाका नेताहरुले चिनियाँ राजदूतसँग गरेको अस्वाभाविक भेटघाट समेतका बारेमा प्रधानमन्त्री र सिङ्गो नेकपाले उत्तर दिनुपर्छ ।’
विभिन्न प्रकरणमा उठेका र उठाइएका सार्वजनिक र राष्ट्रिय सरोकारका विषयहरुलाई केवल पार्टीभित्रको आन्तरिक शक्ति सङ्घर्षबीच उठेको मनमुटावको तितो अभिव्यक्तिका रुपमा प्रतिपक्षीले नलिने उनले बताएका छन् ।