
२५ आषाढ २०७८, शुक्रवार
ओमानस्थित नेपाली दूतावासले छिटो खोप लगाउन नेपालीहरुलाई अनुरोध गरेको छ । ओमानमा पछिल्लो समय फेरि कोरोना भाइरस सक्रमण बढ्दै गएकोले सकेसम्म छिटो खोप लगाउन अनुरोध गरेको हो ।
ओमानले हाल स्वदेशी तथा विदेशी सबै खोप दिइरहेको छ । नेपाली दूतावासले आफ्नो रोजगारदाता कम्पनी वा स्पोन्सरमार्फत खोप लगाउन सकिने भन्दै खोप लगाउने अवसरबाट नछुट्न आग्रह गरेको छ ।
ओमानमा नयाँ भेरियन्टको संक्रमण तीव्ररूपमा फैलिएपछि आगामी ३१ जुलाईसम्म रात्रिकालीन लकडाउन लागू गरिएको छ । महामारीकै बीचमा पनि ओमानले नेपालीलाई आफ्नो देशमाा प्रवेश भने रोकेको छैन ।
उक्त मुलुक जाने कामदार तथा यात्रुले अनिवार्यरूपमा सात दिन क्वरेन्टिनमा बस्नुपर्छ भने त्यहाँ जारी गरिएको एपमार्फत आफ्नो विवरण भरी ओमान विमानस्थलमा नै पीसीआर परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ ।