बाँके:  जिल्लामा पछिल्ला दिनहरुमा कोरोनामुक्त भएर घर जानेहरु बढ्दै गएका छन् । अब २९६ जना संक्रमित मात्रै निको हुन बाँकी छन् ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार बुधवार पनि १८ जना संक्रमणमुक्त भै घर फर्किए ।
बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले सरकारले ५०० भन्दा कम संक्रमित भएको जिल्लालाई संकटमुक्त जिल्ला घोषणा गरेको हुँदा संक्रमितको संख्या २९६ जनामा झरेसंगै बाँके जिल्ला पनि संकटमुक्त जिल्ला बन्न सफल भएको बताउनुभयो ।
उहाँले दसैंको बेला गत चार दिनमा बाँकेबाट ३२१ जना कोरोनामुक्त भै घर फर्किएपछि संक्रमितको संख्या घटेर जिल्ला नै संकटमुक्त बन्न सफल भएको बताउनुभयो ।
सरकारले लक्षण नदेखिएका संक्रमितलाई अबदेखि १० दिनमै डिस्चार्ज गर्ने मापदण्ड तयार गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कोरोना सम्पर्क व्यक्ति श्रेष्ठका अनुसार आइतवार २२८ जना, सोमवार ३७ जना, मंगलवार ३८ जना र बुधवार १८ जना संक्रमित कोरोनामुक्त भै घर फर्किएका हुन् ।
उहाँले अब आइसोलेसन र अस्पतालमा रहेका २९६ मध्ये लक्षण देखिएका ४९ जनाको उपचार भेरी विशेष कोरोना अस्पताल नेपालगञज र ३६ जनाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भैरहेको बताउनुभयो ।
ती मध्ये २० जनाको अवस्था गम्भीर रहेको जनाउँदै उहाँले उनीहरुको उपचारमा प्लाज्मा थेरापीदेखि अन्य सबै विधिको प्रयोग भैरहेको जानकारी गराउनुभयो ।
यसैबीच महामारी नियन्त्रणमा खटिनुभएका बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांग, सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल र नेपालगञ्ज उपमहानगरका उपमेयर उमा थापा मगर पनि संक्रमित भै आइसोलसनमा रहनुभएको छ ।
बुधवार निको भएका १८ जनासंगै बाँकेमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ हजार ६६० पुगेको छ । जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या २ हजार ९९६ पुगेको र तीमध्ये ३० जनाको कोरोनाका कारण मृत्यु भईसकेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर