१७ असाेज २०७७, बुटवल । प्रदेश ५ सरकारले स्थायी राजधानी र नामबारे सदनमा पेश गरेको प्रस्तावको पक्षमा मतदान गर्न नेकपा संसदीय दलको बैठकले ह्वीप लगाउने निर्णय गरेको छ।
बैठकमा रुपन्देही, पाल्पाका सांसदहरुले रुपन्देहीबाट राजधानी सार्न नहुने धारणा राखेका छन्। बैठकमा कपिलवस्तुबाट प्रतिनिधित्व गर्ने सांसदहरुले भने कपिलवस्तुलाई राजधानी बनाउनुपर्ने धारणा राखेका थिए।
सभासद विष्णु पन्थीले कपिलवस्तु राजधानी हुनुपर्ने मत राखेका छन्। उनले यस अघि नै संसोधन प्रस्ताव समेत दर्ता गर्ने र पार्टीको ह्विप नमान्ने अडान सार्वजानिक गरिसकेका छन्।
१४ सांसदको फरक मत
नेकपा प्रदेश नम्बर ५ प्रदेशसभाको संसदीय दलको बैठकमा पहिलो पटक फरकमत दर्ता भएको छ ।
  १४ जना सभासदले फरकमत दर्ता गराएका छन् ।
फरकमतमा भनिएको छ , “रुपन्देही जिल्ला तथा बुटवल नगरमा प्रयाप्त पूर्वाधार रहेको, प्रयाप्त जमीन उपलब्ध हुन सक्ने स्थान जहाँ सरकारले प्रयाप्त लगानी गरीसकेको छ । यो स्थानलाई अवमुल्यन गर्दै अनुपयुक्त स्थानमा राजधानी सार्ने निर्णय प्रकृया प्रति असहमति जाहेर गर्दै फरक मत दर्ज गर्दछौं । ”
संसदीय दलमा फरकमत दर्जगर्नेहरुमा भोज प्रसाद श्रेष्ठ,कृष्ण प्रसाद न्यौपाने, दधिराम न्यौपाने, सुनिता ठडेर, विमला पन्थी, थानकुमारी थापा, तुल्सी प्रसाद चौधरी, युवराज खनाल, नारायण प्रसाद आचार्य, रमा घर्तीमगर, डा. पुरन आचार्य, धर्मबहादुर लाल श्रीवास्तव, बिष्णु प्रसाद पन्थी र फौजिया मिया रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर