
१३ असोज २०७७, मंगलवार
संखुवासभा समाज हङकङद्धारा संखुवासभा सिलिचोङ पहिरो पीडितहरुका लागि एकमुष्ठ ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।
सिलिचोङ गाउँपालिका–२ बुधबारे बजारमा आयोजित कार्यक्रममा समाजका तर्फबाट संखुवासभा हङकङ प्रतिभा पुरस्कार प्रतिष्ठानका अध्यक्ष एवं बरुण बहुमुखी क्याम्पस प्रमुख टीकाराम गुरुङले सिलिचोङ गाउँपालिका अध्यक्ष तथा पहिरो पीडित राहत संकलन तथा वितरण समितिका संयोजक रामबहादुर कुलुङलाई चेक हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बरुण बहुमुखी क्याम्पसको तर्फबाट समेत २५ हजार रुपैयाको चेक हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा सिलिचोङ गाउँपालिका अध्यक्ष रामबहाुदर कुलुङ र कार्यपालिका सदस्य तथा जग्गा ब्यबस्थापन समितिका संयोजक नरभूपाल राई, प्रतिष्ठानका अध्यक्ष टिकाराम गुरुङ, सचिव किरण शाक्य, सदस्य एवं .वीरबहादुर राई (याक्खा) लगायतले जिल्लामा विभिन्न समयमा घट्ने यस प्रकारका घटनाहरुमा संखुवासभा समाज हङकङले सदैव सहयोग गर्दै आएको बताउँदै सहयोग गर्ने सम्पूर्ण हङकङबासी संखुवासभालीहरु प्रति धन्यवाद दिएका थिए । जुलाई ११ शनिबार राति अविरल बर्षाको कारण सिलिचोङ गाउँपालिका–१ बेसिन्दा गाउँमा भिषण पहिरो जादा उक्त गाउँका ११ जना पहिरोमा परि बेपत्ता भएका थिए भने एकजनाको मृत्यु भएको थियो । त्यस्तै गरी पहिरोले ९ घर बगाएको र १ सय ३८ घर विस्थापित भएका छन् ।