११ असोज २०७७, आइतवार
नेपाली उल्लेख्य बसोवास गर्ने बेलायतको अल्डरसटस्थित क्वीन्स् रोडमा शिव मन्दिर निर्माण अन्तिम चरणमा पुगेको छ । दशैंमा नव दुर्गा स्थापना त्यही मन्दिरमा गरिने शिव कल्चरल सेन्टरका महासचिव विक्रम भट्टराईले जानकारी दिए । तर, दशैं कार्यक्रम सरकारी ‘गाइडलाइन्स’ मा रहेर गरिनेछ ।
मन्दिरको बाह्य आवरण नेपालकै प्यागोडा शैलीमा बनाउन स्थानीय रसमोर बरो काउन्सिलसंग अनुमति माग गरिएको भट्टराईले बताए । भवन खरिदबाहेक एक लाख ६० हजार पाउण्ड ‘रिफर्बिस’ खर्च लाग्नेमध्ये करिब १२ हजार पाउण्ड नपुग भएको शिव कल्चरल सेन्टरले जनाएको छ । सेन्टरले अपुग पैसा संकलनमा बेलायतवासी नेपालीको पुन सहयोग अपेक्षा गरेको छ ।
मन्दिरमा राख्न लन्डनका व्यवसायी रबि लामिछानेले १५ हजार ७३० पाउण्डसहित चर्तुमुखी शिव लिंग (पशुपतिनाकै एउटा रुप) दान गरेका छन् भने सदस्य नारायण केसीले नेपालबाट कलात्मक ढोका ल्याइदिएका छन् । यसका अतिरिक्त केसीले तीन हजार पाउण्ड समेत बेग्लै चन्दा दिएका थिए । मन्दिर निर्माणका लागि नेपाली, भारतीय र अन्य नागरिक गरि करिब ६ सय जना जोडिएका छन् ।