
९ असोज २०७७, शुक्रवार
करेन्ट लागेर मृत्यु भएका माप्यदूधकोशी गाउँपालिका–५ का वडाध्यक्षको परिवारलाई २५ लाख क्षतिपूर्तिको व्यवस्था गर्न सोलुखुम्बुका सांसद बुद्धिकुमार राजभण्डारीले माग गरेका छन् ।
प्रदेशसभा सदस्य एवं नेकपा प्रदेश नं १ संसदीय दलका प्रमुख सचेतक समेत रहेका राजभण्डारीले क्षतिपूर्ति दिने सवालमा आनाकानी नगर्न कम्पनीसँग आग्रह गरे ।
कम्पनीले लाइनको व्यवस्थापनमा ध्यान नदिई आम्दानीतर्फ मात्रै ध्यान दिँदा दुर्घटना भएको प्रदेशसभा सदस्य राजभण्डारीको भनाइ छ ।
यसैबीच सल्लेरी–च्याल्सा विद्युत कम्पनीको हाइटेन्सन लाइनलाई व्यवस्थित बनाउन सोलुखुम्बुका सांसदले निर्देशन दिएका छन् ।
बिहीबार कम्पनीका प्रतिनिधि र सरोकारवालाबीच भएको छलफलमा जोखिम क्षेत्रको तारलाई तत्काल व्यवस्थित बनाउन प्रतिनिधिसभा सदस्य हेमकुमार राई सुरवीरले निर्देशन दिए । अव्यवस्थित तारका कारण मानवीय क्षति भएको बताउदै राईले यस्ता तारलाई तत्काल व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।