
९ असोज २०७७, शुक्रवार
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले ट्याक्टर व्यवसायीसँगको सहकार्यमा सडकको खाल्डाखुल्डीमा रोडा भर्ने काम शुरु गरेको छ ।
गाउँपालिकाको आग्रहमा गाउँपालिकाभित्रका २१ जना ट्याक्टर व्यवसायीले वर्षाका कारण सडकमा बनेको खाल्डाखुल्डीमा रोडा भर्न र मर्मतसम्भारका लागि निःशुल्क ट्याक्टर उपलव्ध गराएपछि मर्मतको काम शुरु गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।
दशैं र तिहार नजिकिदै गरेको अवस्थामा गाउँपालिका र ट्याक्टर व्यवसायीको सहकार्यमा गाउँपालिकाभित्रका मूख्य–मूख्य सडक मर्मतको काम शुरु गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाभित्रका प्रमुख सडकका रुपमा रहेको रमाईलो–छितापोखरी, टुवाखोला–तावा खोला, याम्खा–खानीडाँडा र रेग्मीटार–पञ्चमी सडकका खाल्डाखुल्डीमा रोडा भर्ने काम थालिएको हो ।
वर्षाका कारण अधिकांश सडकमा खाल्डाखुल्डी बनेपछि सवारी साधन आवत–जावतमा समस्या भइरहेको अवस्थामा मंगलबार बसेको बैठकले सडक मर्मत सम्भार स्वरुप खाल्डाखुल्डीमा भर्ने रोडा ओसार्न ट्याक्टर व्यवसायीले तीन÷तीन दिन ट्याक्टर उपलव्ध गराउने निर्णय भएको थियो ।
सडकको खाल्डोमा थुपारिएको रोडालाई जेसिभी लगाएर सम्याउने काम शुरु गरिएको अध्यक्ष राईले बताए । ‘वर्षाका कारण सडकमा जताततै खाल्डाखुल्डी बनेका छन् ।
ती खाल्डाखुल्डी पुरेर सडकलाई सुचारु गराउनका लागि ट्याक्टर व्यवसायी र गाउँपालिकाको सहकार्यमा काम शुरु गरिएको हो,’ गाउँपालिका अध्यक्ष राईले भने, दशैं तिहारका लागि सडकलाई चुस्त बनाउने हाम्रो तयारी हो ।’