१७ भाद्र २०७७, बुधवार

एजेन्सी

उरुग्वेका पूर्व फरवार्ड डिएगो फोर्लान प्रशिक्षक पदबाट बर्खास्त भएका छन् । फोर्लान्लाई उरुग्वेली क्लब पेनारोलले बर्खास्त गरेको हो ।

उनी गत डिसेम्वरमा मात्रै आफ्नो बाल्यकालको क्लब पेनारोलको मुख्य प्रशिक्षक बनेका थिए । तर, उनको प्रशिक्षणमा पछिल्लो ९ खेलबाट मात्रै १२ अंक जोड्न सकेपछि पेनारोल प्रशिक्षक परिवर्तन गर्न बाध्य बनेको थियो ।

मोन्टेभिडियोमा रहेको क्लब पेनारोल अघिल्लो सिजनको च्याम्पियन हो । तर, यसपटक सातौं स्थानमा रहेको छ । पेनारोलले समान ३ जित, बराबरी र हारको नतिजा निकालेको छ ।

फोर्लानले सामाजिक सन्जाल ट्वीटरमा ‘मैले पेनारोल छोड्नुपर्यो, तर, मैले पेनारोललाई धन्यवाद दिनुपर्छ । तपाईले मलाई अवसर प्रदान गर्नुभएकोमा धन्यवाद । खेलाडीहरुलाई धैर्यताको लागि धन्यवाद, तपाईको सम्मान, समर्पण र तपाईको शिक्षाको लागि धेरै धन्यवाद । अन्तमा समर्थहरुलाई मायाको लागि धन्यवाद । मलाई कुनै गुनासो छैन । यो फुटबल हो,’ लेखेका छन् ।

४१ वर्षीय फोर्लान २००२ देखि २००४ सम्म म्यानचेस्टर युनाइटेडमा रहेका थिए । उनले पछि स्पेनिस क्लब एट्लेटिको मड्रिड र भिल्लारियलबाट पनि खेलेको थिए ।

पछि उनले इटालियन क्लब इन्टर मिलान, ब्राजिलियन क्लब इन्टर नासिनोल, जापनिज क्लब सेरेजो ओसाका हुदै २०१५–१६ को सिजनमा आफ्नो बाल्यकालको क्लबमा खेल्दै पेनारोललाई च्याम्पियन बनाएका थिए ।

त्यसपछि उनी भारतको मुम्वई सिटी एफसी र हङकङको किट्चीबाट खेल्दै व्यवसायिक खेलजीवन अन्त्य गरेका थिए । उनले म्यानचेस्टर युनाइटेडबाट प्रिमियर लिग, एफए कप र कम्युनिटी शिल्ड जितेका छन् ।

एट्लेटिको मड्रिडबाट युरोपा लिग र युइएफए सुपरकप जितेका थिए । नासिनोलबाट क्याम्पेनाटो गाउचो, पेनारोलबाट प्रिमेरा डिभिजन र किट्चीबाट हङकङ प्रिमियर लिग जितेका छन् । उनले २०१४ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर