
गल्याङ नगरपालिका द्वारा आयोजित मेलमिलापसम्बन्धी आधारभूत तालिम सफलतापूर्वक सम्पन्न भएको छ। नगर उपप्रमुख हेमा न्यौपानेको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा विभिन्न वडाका वडाअध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे, कार्यपालिका सदस्यहरू तथा मेलमिलाप सहजकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
तालिम जेठ ४ गतेदेखि ११ गतेसम्म गल्याङ नगरपालिकाभित्रका ११ वटै वडाबाट सहभागी मेलमिलाप सहजकर्ताहरूलाई लक्षित गरी सञ्चालन गरिएको थियो। तालिमको सहजीकरण प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र, नेपाल (CPT-Nepal) ले गरेको थियो।
तालिमले समुदायस्तरमा उत्पन्न हुन सक्ने द्वन्द्व र विवादको समाधानमा मेलमिलापात्मक दृष्टिकोणबाट काम गर्न सहजकर्ताहरूलाई आवश्यक सीप, ज्ञान र व्यवहारिक अभ्यास प्रदान गरेको आयोजक पक्षको भनाइ छ।
स्थानीय सरकारको नेतृत्वमा मेलमिलाप संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यो तालिमले दीर्घकालीन सामाजिक समृद्धि र शान्ति स्थापनामा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।