राष्ट्रिय परीक्षा बोर्ड (NEB) ले कक्षा १२ को वार्षिक परीक्षा २०८२ साल वैशाख २१ गते आइतबार बिहान ८:०० बजेबाट देशभर एकैसाथ सुरु गरेको छ। परीक्षा जेठ २ गतेसम्म सञ्चालन हुनेछ।

परीक्षा केन्द्र र व्यवस्थापन

देशभर १,५९० परीक्षा केन्द्र र जापानमा १ गरी कुल १,५९१ परीक्षा केन्द्र निर्धारण गरिएको छ। काठमाडौँमा सबैभन्दा धेरै १६२ केन्द्र तोकिएको छ भने मनाङ र मुस्ताङमा एक-एक केन्द्र निर्धारण गरिएको छ।

परीक्षा सञ्चालनका लागि प्रत्येक केन्द्रमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, करिब २,००० कर्मचारी, कम्तीमा एक कार्यालय सहयोगी र २०,०० सुरक्षाकर्मी खटाइएको छ।

परीक्षार्थी संख्या

पाँच हजार २०२ विद्यालयका नियमिततर्फ १,९८,८७५ छात्र र १,९७,१३३ छात्रा गरी ३,९५,९०८ परीक्षार्थी तथा आंशिकतर्फ १,१५,६१७ जना गरी कुल ५,११,५२५ परीक्षार्थी सहभागी हुनेछन्।सबैभन्दा कम मनाङबाट ४५ परीक्षार्थी र सबैभन्दा धेरै काठमाडौँबाट ६८,१३३ परीक्षार्थी सहभागी हुनेछन्।

विशेष व्यवस्था

कम श्रवणशक्ति, दृष्टिविहीन, सुस्त मनस्थिति वा अन्य अपांगता भएका परीक्षार्थीका लागि विशेष व्यवस्था गरिएको छ। साथै, कारागार वा बाल सुधारगृहमा रहेका परीक्षार्थीलाई पनि परीक्षा दिने व्यवस्था मिलाइएको छ।

परीक्षा केन्द्रमा निषेधित सामग्री

परीक्षा केन्द्रमा केन्द्राध्यक्षबाहेक अरू कसैले मोबाइल फोन लैजान पूर्ण निषेध गरिएको छ। परीक्षार्थीलाई मोबाइल फोन, स्मार्ट घडी, इलेक्ट्रोनिक डिभाइस (लोडेड डकुमेन्ट नभएको क्याल्कुलेटरबाहेक) लैजान निषेध गरिएको छ।

परीक्षाको मर्यादाविपरीत शिक्षक, कर्मचारी, निरीक्षक वा परीक्षार्थीले प्रतिबन्धित सामग्री प्रयोग गरेमा शिक्षा ऐन, २०२८ को दफा १७ (१ क) ‘च’ अनुसार कानुनी कारबाही गरिनेछ।

पहिलो दिनको परीक्षा

परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृत रचना, बुद्ध शिक्षा, उर्दू व्याकरण विषयको परीक्षा हुनेछ। साधारण र परम्परागत धारतर्फका नियमित तथा आंशिक परीक्षार्थी (रजिस्ट्रेशन नम्बरका सुरुका दुई अंक ७८, ७९, ८० र ८१ हुने) र प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थी (रजिस्ट्रेशन नम्बरका सुरुका दुई अंक ७९, ८०, ८१ हुने) सहभागी हुनेछन्।

महत्त्वपूर्ण सूचना:

– परीक्षा समय: बिहान ८:०० बजे देखि ११:०० बजे सम्म।
– परीक्षा अवधि: वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म।

परीक्षार्थीहरूलाई समयमै परीक्षा केन्द्रमा उपस्थित भई परीक्षा मर्यादा पालना गर्न राष्ट्रिय परीक्षा बोर्डले अनुरोध गरेको छ।

रास्ट्र डेली डट कम

प्रतिक्रिया

सम्बन्धित खवर