
नेपाल शिक्षक महासङ्घको आयोजनामा काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलन निर्णायक चरणमा पुगेको छ। विगतका सबै सहमति कार्यान्वयन र गुणस्तरीय, विद्यार्थी तथा शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन तत्काल जारी गराउन राज्यलाई बाध्य पार्ने उद्देश्यका साथ यो आन्दोलन अगाडि बढाइएको हो।
महासङ्घले देशभरका सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई आन्दोलनमा ऐक्यबद्धता जनाउँदै पूर्णरूपमा विद्यालय बन्द गरी काठमाडौंमा सहभागिता जनाउन पुनः अपील गरेको छ।
आन्दोलनलाई सफल तुल्याउन संस्थागत विद्यालयहरू समेत बन्द गर्न, प्रवेश परीक्षा, ग्रेड वृद्धि परीक्षा, उत्तरपुस्तिका परीक्षण, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि क्रियाकलाप नगर्न पनि महासङ्घले अनुरोध गरेको छ।
यसै सन्दर्भमा आउँदै गरेको कक्षा १२ को परीक्षा बहिष्कार गर्न समेत सम्पूर्ण प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीहरूलाई आग्रह गरिएको छ।
नेपाल शिक्षक महासङ्घले शिक्षालाई राज्यको प्राथमिकतामा ल्याउन दबाब स्वरूप यो आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबैलाई एकजुट हुन आह्वान गरेको छ।