नेपालले चार देश सम्मिलित महिला टीट्वान्टी आई क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ । नेपालले मंगलबार आफ्नो पहिलो खेलमा हङ्कङलाई ६ विकेटले हरायो । मलेसियामा भएको उक्त खेलमा नेपाललाई जिताउन सीता रानामगरले उत्कृष्ट बलिङ गरिन् ।

हङ्कङले पहिले ब्याटिङ गर्दै १९.१ ओभरमा अलआउट हुनुअघि ८४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १५.५ ओभरमै केवल चार विकेट गुमाएर ८७ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो ।

नेपालको जितमा सम्झना खड्काले अविजित ३६ रनको योगदान गरिन् । उनले ३६ बलमा पाँच चौका पनि प्रहार गरिन् । सीता रानामगर तीन रनमा अविजित रहिन् । पूजा महतोले १८ बलमा १६ रनको योगदान गरिन् । ओपनरको भूमिकामा ओर्लिएकी पूजाको राष्ट्रिय टोलीबाट यो ‘डेब्यू’ खेल हो ।

रुविना क्षेत्रीले २० बलमा १० रन बनाइन् । इन्दु बर्माले नौ रनको योगदान गरिन् । हङ्कङकी बलर केरी चेन, इकरा साहर र मारिको हिलले एक—एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङ्कङलाई सस्तोमा समेटन सीता रानामगरले चार ओभरमा १६ रन खर्चिएर पाँच विकेट लिएकी थिइन् । टीट्वान्टी प्रतियोगितामा यो उनको उत्कृष्ट प्रदर्शन हो ।

नेपालकी बलर इन्दू बर्माले पनि दुई विकेट हात पारिन् । कविता कुँवर, पूजा महतो र रुविना क्षेत्रीले एक—एक विकेट लिए । नेपालले दोस्रो खेल बुधबार कुवेतसँग खेल्नेछ । नेपालले आईसीसी महिला टीट्वान्टी विश्वकपको एसियाली क्षेत्रको छनोट प्रतियोगिताका लागि अभ्यास खेल खेलेको हो । एसियाली क्षेत्रको छनोट प्रतियोगिता अगस्त ३१ देखी सेप्टेम्बर ९ सम्म मलेसियामा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर