
पूर्वी नाकामा गाडी मोडिफाई गरी सामान तस्करी हुने गरेको खुलासा भएको छ । बुधबार सशस्त्र प्रहरीले मोडिफाई गरेको एक कारबाट करिब २ लाख रुपैयाँ मूल्यको सवारी पार्टपुर्जा बरामद गरेको छ ।
दिउँसो पूर्वी नाकाबाटै प्रवेश गरेको डब्ल्यूबी ७४ एटी ३९४० नम्बरको भारतीय कार भन्सार र प्रहरीको जाँच छिचोलेर पूर्व–पश्चिम राजमार्गको निन्दा पुल नजिक पुगेको थियो । राजमार्गमा तैनाथ सशस्त्रले पुनः जाँच गर्ने क्रममा गाडीको डिकीभित्र अवैध पार्टपुर्जा फेला पारिएको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वार्टर झापाका डीएसपी देवराज अर्यालले जनाए ।
‘यो गाडीले केही समयदेखि निरन्तर सामान तस्करी गरेको सूचना प्राप्त भएको थियो,’ अर्यालले भने, ‘लामो प्रयत्नपछि फेला पारिएको हो ।’ यसअघि पनि यही कारभित्र चाँदी भित्र्याइएको सूचना सशस्त्रले पाएको थियो ।
करिब १६ लाख ९० हजार रुपैयाँ बराबरको कार र सामान मेची भन्सार कार्यालयमा बुझाइएको उनले जानकारी दिए ।